होमस्टेमा थारू महिला : आयआर्जनसँगै संस्कृतिको जगेर्ना

भाद्र १४, २०७९ | चितवन

चितवनको माडी बघौडा सामुदायिक होमस्टेमा पाहूनाले फरक स्वाद मात्रै हैन शैली पनि नयाँ नै अनुभव गर्छन् । पाहुनालाई थारू पहिरन पहिराउने मात्रै हैन रैथाने परिकार चखाइन्छ । थारू समुदायको मौलिक नाच झुम्रा, लठौहालगायत हेर्न चाहेमा पाहुनालाई सांस्कृतिक मनोरञ्जनको सुविधा पनि हुन्छ । २०७६ सालमा ११ जना मिलेर सञ्चालक समिति गठन गरी बघौडा होमस्टे थालनी गरिएको हो ।

माडीमा थारू समुदायकै नेतृत्वमा पाँच वटा होमस्टे सञ्चालनमा छन् । रोजगारी र शिक्षामा थारू समुदायको पहुँच कम छ । त्यसमाथि थारू महिलाको पहुँच झनै कम छ । पछिल्लो समय थारू समुदायका महिलाले होमस्टे चलाएर आम्दानीको बाटो खोलेका छन् । होमस्टेको मुख्य जिम्मेवारी महिलाले नै सम्हालेका छन् । सञ्चालक समितिकी अध्यक्ष रजपतिया चौधरीका अनुसार, सुरुमा त उनीहरूलाई होमस्टेबारे बुझ्न र सञ्चालन गर्ने तरिका जान्न नै सकस भयो । ‘‘होमस्टे भनेको थाहै थिएन,’’ उनी हाँस्दै भन्छिन् ।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा पहिलो पटक होमस्टेको बारेमा सुनेको सञ्चालक समितिकी अध्यक्ष चौधरी बताउँछिन् । होमस्टे चलाएर पनि आम्दानी गर्न सकिन्छ भनेर कार्यक्रमबाट थाहा त भयो तर अरू कुरा उनीहरूले बुझ्न सकेनन् ।

थारू महिलामा होमस्टे कस्तो हुन्छ ? कसरी सञ्चालन गर्न सकिन्छ भन्ने जिज्ञासा भने पलाउन थाल्यो । अध्यक्ष चौधरी भन्छिन्, “होमस्टेबारे बुझ्न दुई तीन जनाले चितवनको सौराहा र नवलपरासीको अमलटारी लगायतका होमस्टेको भ्रमण गर्यौँ । त्यसबाट होमस्टे के हो, कसरी कमाइ हुन्छ, जानकारी भयो ।”

अध्यक्ष चौधरीका अनुसार, होमस्टे सञ्चालनका लागि माडी नगरपालिकाले ५० प्रतिशत अनुदान दियो । “१० लाख खर्चमा पाँच लाख नगरपालिकाले अनुदान दियो, बाँकी आफ्नो लगानी लगाएँ,” उनी भन्छिन् । आफूलाई अनुदान भनेको थाहा नभएर नगरपालिकाले लगानी गरेको पैसा लैजान्छ कि भन्ने डरले होमस्टेका लागि बनाएको घर भत्काएको पनि उनी बताउँछिन् । “होमस्टेका लागि बनाएको घर दुई पटक भत्काइयो, तर फेरि बनाइयो ।” उनी भन्छिन् ।

अध्यक्ष चौधरीले होमस्टे सञ्चालन गरेको देखेर भगवती महतोले पनि सुरु गरिन् । “होमस्टे सञ्चालन गरेदेखि नगद आउने बाटो खुलेको छ,” उनी भन्छिन् । उनका अनुसार, होमस्टे सञ्चालनमा आर्थिक सहयोगदेखि गर्नुपर्ने विभिन्न काममा परिवारको सहयोग रहेको छ ।

होमस्टेमा बाँकी लगानी मलेसिया, कतार र दुबईको रोजगारीबाट कमाएको रुपैयाँ रहेको होमस्टेका युवराज महतो बताउँछन् । “वैदेशिक रोजगारबाट फर्केपछि होमस्टे सञ्चालन गर्ने योजना मार्फत नगरपालिकाले अनुदान दिएर अवसर प्रदान ग¥यो ।” उनी थप्छन्, ‘‘सञ्चालन भएका पाँच वटै होमस्टेमा वैदेशिक रोजगारीबाट सङ्कलन भएको पैसा लगानी गरेका छौँ ।” विदेशबाट कमाएको पैसा स्वदेशमा लगानी गर्न पाउँदा रोजगारीका लागि पुनः विदेश जान नपरेको उनी सुनाउँछन् । परिवारका सबै मिलेर होमस्टेमा काम गर्दा सजिलो भएको उनी बताउँछन् । “पाहुनालाई स्वागतदेखि खानपिनमा महिलाको मुख्य भूमिका हुन्छ,” उनी भन्छन्, ‘‘तर आफूलाई आएको काममा पुरुषले पनि सहयोग गर्ने गरेका छन् ।”

के हो होमस्टे ?

‘होमस्टे’ अंग्रेजी शब्द हो । नेपालीमा यसलाई ‘घरबास’ भनिन्छ । नेपालमा अहिले होमस्टे शब्द नै बोलीचालीमा चलिसक्यो । होमस्टेले यात्राका क्रममा ग्रामीण भेगका घरमाबास बस्ने भन्ने अर्थ जनाउँछ । यसले ग्रामीण क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ ।

होमस्टेलाई नेपाली परम्परागत संस्कृतिको आधुनिक रूप पनि मान्न सकिन्छ । ग्रामीण भेगका कतिपय ठाउँमा बेलुकाको समयमा बास बस्न आएका पाहुनाहरूलाई आफ्नो भान्सामा जे पाकेको छ त्यही खान दिने चलन थियो । त्यसबापत न्यूनतम रकम मात्र लिने चलन थियो । त्यही चलनको आधुनिक रूप हो, होमस्टे । होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रूपमा सञ्चालन गरिएको सेवा पनि बुझिने पर्यटन वोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् । उनका अनुसार सन् १९९८ देखि काम सुरु भइसकेको थियो । बोर्डले २०११ मा नेपालमा करिब ११ लाख पर्यटक आउने अनुमान गरिएको थियो । पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउने उद्देश्यले होमस्टे सञ्चालन गरी ४० प्रतिशत पर्यटकलाई बसाउने योजना थियो । होमस्टे सञ्चालन गर्दा ग्रामीण समुदायको आयस्रोत बढ्दै गएको छ । स्थानीय व्यक्तिको जीवनस्तरमा सुधार पनि आएको लामिछानेले बताउँछन् ।

कति छन् माडीमा होमस्टे ?

माडी नगरपालिकामा अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे, बघौडा सामुदायिक होमस्टे, बोटे सामुदायिक होमस्टे, माडी भ्यू सामुदायिक होमस्टे र दराई सामुदायिक होमस्टे गरी पाँच वटा होमस्टे सञ्चालनमा छन् । दुरा सामुदायिक होमस्टे पनि सुरु हुने क्रममा रहेको जानकारी नगरपालिकाका सूचना अधिकारी प्रविन भण्डारीले दिएका छन् । उनका अनुसार, हालसम्म सञ्चालनमा भएका होमस्टेलाई ३३ परिवारले सञ्चालन गरेका छन् ।

सूचना अधिकारी भण्डारी माडी नगरपालिकाले होमस्टेसम्बन्धी कार्यविधि बनाएको जानकारी दिदैं भन्छन्, “सोहीअनुसार योजना बनाएर नगरपालिकाभित्र होमस्टे सञ्चालन गर्छौं । नगरपालिकामा आउने पहुनाहरूलाई होमस्टेमै बस्ने व्यवस्था गर्छौं ।” यसका साथै थारू संस्कृति झल्काउने खालका मेला, महोत्सव पनि आयोजना गर्ने गरिएको उनी बताउँछन् ।

नगरपालिकाले योजना ल्याउनुअघि नै अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा रहेको थियो । बाँकी चार वटा होमस्टे सञ्चालनमा ल्याउन नगरपालिकाले सहयोग गरेको भण्डारी बताउँछन् । उनका अनुसार, माडीलाई पर्यटकीय सम्भावना भएको नगरपालिका मानिन्छ । यसैले नगरपालिकामा विभिन्न समुदायले आफ्नो सांस्कृतिक झाँकी प्रस्तुत गर्नका लागि सामुदायिक भवन पनि निर्माण गर्ने योजना रहेको उनी बताउँछन् ।

चुनौती झेल्दै सहज बनाउँदै

कुनै पनि कार्यको थालनी गर्दा चुनौती र सम्भावना दुवैको बिचबाट अघि बढ्नुपर्छ । थारू समुदायका महिलाले होमस्टे चलाउँदा यो कुरा पनि अनुभव गरेको पाइन्छ । थारू समुदायका कम पढालेखा व्यक्तिले आफूलाई नेपाली भाषामा प्रष्ट बोल्न नै समस्या पर्ने गरेको बताउँछन् । थारू महिलाहरू पनि आफूले होमस्टे सञ्चालन गर्दा झेल्नुपरेकोे पहिलो चुनौती भाषालाई नै ठान्छन् ।

भाषा भनेको व्यवहार धान्ने माध्यम हो । जसोतसो नेपाली बोलेरै आफूहरूले होमस्टे चलाउँदै आइरहेको र बिस्तारै भाषिक समस्या कम हुँदै गएको अनुभव पनि उनीहरू सुनाउँछन् । होमस्टे सञ्चालन गरेपछि यहाँका थारू समुदायले पनि प्रष्ट नेपाली बोल्न सक्ने भएको महतो सुनाउँछिन् । भन्छिन्, “नेपाली पनि प्रष्ट बोल्न आउँदैन थियो । तर होमस्टे सञ्चालन गरेपछि यहाँका दिदीबहिनी बोल्न नडराउने, आफ्नो कुरा प्रस्टसँग राख्न सक्ने भएका छन् ।” यो कुराले आफू एकदमै सन्तुष्ट भएको पनि उनी बताउँछिन् ।

थारू महिलाहरूले झेलिरहेका अर्को चुनौती पुरुष पाहुनासँग सम्बन्धित छ । पुरुषलाई होमस्टेमा बास दिनुपर्दाका अप्ठ्याराहरू लैङ्गिक प्रकृतिका पनि छन् । सुरुवाती दिनहरूमा होमस्टेमा बस्न आएका कतिपय पाहुनाहरूले नसामा मातिएर दुव्र्यवहार गरेको तितो अनुभव अध्यक्ष चौधरीसँग पनि छ । भन्छिन्, “सुरुसुरुमा पाहुनाहरू आउँदा रातीसम्म जाँड खाने, लागेपछि छुन आउने गर्थे ।” उनका अनुसार, होमस्टेमा पाहुना आउँदा मध्यरातसम्म हल्ला हुने भएकाले छिमेकीहरूबाट गुनासो पनि आउँछ । सुरु सुरुका दिनहरूमा भएका घटनाहरूलाई सम्झिँदै उनी भन्छिन्, “घरपरिवार, छरछिमेक र समाजले इज्जत जान्छ भने, यस्ता कुराले कैयन् रात मेरो निन्द्रा परेन । एक पटक त होमस्टे सञ्चालन नगर्ने सोच पनि बनाएँ ।”

आम्दानीको बाटो हुने भएकाले अप्ठ्याहरूलाई झेलेरै पनि होमस्टेलाई निरन्तरता दिएको अध्यक्ष चौधरी बताउँछिन् । त्यसमाथि उनलाई होमस्टे सञ्चालनमा घरपरिवारको साथ र सहयोग पनि छ । “परिवारको सहयोग पाएपछि होमस्टे सञ्चालनका बाधा अवरोध कम हुँदै गएको हो,” उनी भन्छिन् ।

महतोले पनि सुरु सुरुमा चौधरीको जस्तै नै समस्या भोगिन् । उनले पनि होमस्टेमा आउने पाहुनाले गर्ने होहल्लाका कारण रातीमा बाधा पु¥याएको भनी छिमेकीले गुनासो गरेको सुनेकी हुन् । उनी भन्छिन्, “पैसा तिमीहरूले कमाउने, हल्ला हामीले सहनुपर्ने, तिम्रा पाहुनाहरूलाई सम्झाउनु भन्ने गुनासो पनि गरे ।”

पछिल्लो समय भने घरपरिवारले पनि दुःख बुझेर काममा सघाउँछन् । छरछिमेकलाई पनि कुरा बुझाउँदै आएका छन् । परिवार र छरछिमेकले पनि होमस्टे सञ्चालनका दुःखसुखका साथै पारिवारिक र सामूहिक फाइदाका कुरा बुझेपछि अहिले राम्रो भइरहेको उनीहरू बताउँछन् ।हाल चौधरी र महतो दुवैले मासिक ३५ हजार रुपैयाँ कमाइ हुने गरेको पनि जनाएका छन् ।

स्थानीय वस्तुको प्रयोग

‘‘होमस्टे सञ्चालनगरी आफ्नै बारीमा हुने तरकारी, स्थानीय पोखरीमा पाइने माछा, घोङ्गी, कुखुरा, हाँसबाट नै आम्दानी हुने रहेछ,’’ अध्यक्ष चौधरी भन्छिन् । यो कुराले आफूलाई अचम्म लागेको पनि उनी बताउँछिन् । यति मात्रै नभई थारू संस्कृतिमा पाइने रैथाने खानाको स्वाद अरूलाई चखाउन पाउँदा उनी खुसी देखिन्छिन् । होमस्टे सञ्चालन गरेर थारू समुदायको संस्कृतिलाई आफूले जगेर्नाका साथै प्रचार गरेको उनी ठान्छिन् ।

थारू समुदायमा घरमै मदिरा बनाएर पिउने चलन निकै पुरानो हो । कतिपय स्थानमा अहिलेका युवाले पनि मदिरा पिएर होहल्ला गर्ने गर्दछन् । महतोका अनुसार, माडीका कैयौँ युवा पनि मदिरा पिउने कार्यबाट अछुतो रहेका छैनन् । तर होमस्टे सञ्चालन गरेपछि घुम्न आउने पाहुनाबाट प्रभावित भएर थारू युवाले मदिरा पिएर होहल्ला गर्न छोडेको पनि उनी सुनाउँछिन् । होमस्टेमा बाहिरियाभन्दा पनि भित्री पर्यटक बढी आउने गरेको उनी बताउँछिन् । “होमस्टेमा स्कुल, सङ्घसंस्थाका मानिस हेर्न आउने र कोही थारू खाना चाख्न आउने गर्छन् ।’’ उनी भन्छिन् ।

महतोका अनुसार, चाडपर्व आएपछि परम्परागत रूपमा जे प्रचलनमा थियो त्यसै अनुरूपको सांस्कृतिक पहिरन लगाउने, खाना पनि सोही प्रकारको पकाउने गरिन्छ । उनी पाहुना आउँदा मागअनुसार मात्रै सांस्कृतिक कार्यक्रम गरिने पनि बताउँछिन् । यसलाई सुधारेर पाहुना आउँदा साँच्चिकै थारू गाउँमा आएको अनुभूति गर्न सकिने माहौल बनाउन पाए हुन्थ्यो भन्ने उनलाई लाग्छ । यसैले भन्छिन्, “थारू समुदायको पहिचान झल्किने घर आवश्यक रहेको, नृत्यको लागि सानो स्थान भएकाले ठुलो क्षेत्रफल आवश्यक छ ।”

माडीका होमस्टेमा आउने कतिपय पाहुनाले थारूले मात्रै होमस्टे सञ्चालन गरेको देखेर हौसला दिएर जाने गरेका छन् । महतो भन्छिन्, “आएका पाहुनाले अहिलेसम्म राम्रो प्रतिक्रिया दिनु भएको छ,” तापनि यत्तिमै खुसी हुने कुरा छैन । सुधार गर्नुपर्ने कुरा थुप्रै छन् । सबैभन्दा बिझाउने कुरा त सजावटको कमी नै हो । उनी घरका सम्बन्धमा पनि भन्छिन्, “थारू महिलाले चलाएको भए पनि होमस्टेका घरहरू हेर्दा थारू घरको अनुभव हुन सकेको छैन ।” घरहरू झलक्क हेर्दैमा थारू घर जस्ता देखिए होमस्टे झनै राम्रो हुन्थ्यो भन्ने उनलाई लागेको छ ।

थारू संस्कृतिविद्को विचार

कुनै पनि जाति विशेषले होमस्टे सञ्चालन गर्दा सोही समुदायले मान्ने संस्कृतिका सम्पूर्ण विधालाई समेटनु पर्ने विचार थारू संस्कृतिविद् अशोक थारूको रहेको छ । उनी भन्छन्, “अतिथि संस्कारको कुरामा ध्यान दिन आवश्यक छ । अतिथि सत्कार गर्ने चलनका नाममा आफ्नो मात्रै पुरातन संस्कृति पस्किँदा समयसापेक्ष र स्वीकार्य हुनेगरी पस्किनुपर्छ ।” साथै, चितवनको माडीका थारूहरूको मौलिक खाने कुरा के हो, पकाउने विधि के हो, पस्किने विधि के हो ? भन्ने कुरामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

उनका अनुसार, होमस्टेमा पर्यटकहरू खाना खान र बस्न मात्रै आउने नभएर अध्ययन अनुसन्धानका लागि पनि आउने गर्दछन् । त्यस्ता विषयलाई ध्यान दिन आवश्यक हुने पनि उनी बताउँछन् । साथै, मौलिक गहना, पहिरन, खाना, खाना पकाउने तरिका जस्ता विषयमा थारू होमस्टे सञ्चालकले ध्यान दिन आवश्यक रहेको उनी ठान्छन् ।

थारू समुदायमा खाना पकाउने विधि र पकाउने भाँडाकुँडा नै फरक हुन्छन् । यसलाई पनि ध्यान दिन आवश्यक छ । “होमस्टेमा आधुनिक भान्सा बनाए पनि भान्सामा काठको चटुवा, ढबला, माटाका भोक्टीहरू लगायत सामग्री थारू संकृतिअनुसार टिपिकल हुन आवश्यक छ,” संस्कृतिविद् थारू भन्छन् । उनका अनुसार, थारू समुदायको रैथाने भाषा पनि हराउँदै गएको छ । अहिले प्रयोग हुने वस्तुहरूका थारू नामहरू पनि थाहा नहुने उनी बताउँछन् । “थारू समुदायमा वस्तुका मौलिक नाम छन्, त्यसलाई ध्यान दिनुपर्छ,”उनी भन्छन् ।

होमस्टेका रूपमा सञ्चालन गर्नका लागि सम्भव भएसम्म थारू घरको मौलिक नमुना बनाउन पनि उनले सुझाएका छन् । भन्छन्, “थारू घरको मूल द्वार पूर्वमा एउटा रपश्चिममा अर्को हुन्छ । सडक नजिक आँगन हुन्छ । पछाडिको आँगन डिउआर (कुल देवता राख्ने कोठा) को हुन्छ, यसको पछाडि बारी (करेशाबारी) हुन्छ ।” उनका अनुसार, यसरी बनाएको घर मात्र थारूको वास्तुकला अनुसारको घर हुन्छ, मौलिक थारू घर हुन्छ । थारू गाउँमा यस्ता खाले मौलिक घरहरू अझै छन् । तिनलाई सरकारले पनि संरक्षण गर्न ध्यान दिनु आवश्यक रहेको उनी बताउँछन् ।

होमस्टे एउटा व्यवसाय मात्र होइन, संस्कृति जोगाउने माध्यम पनि हो । यसबाट थारू समुदायको संस्कृतिका कैयौँ पाटालाई अन्य समुदायको नजरमा आकर्षक बनाएर उभ्याउन सकिन्छ । यसका लागि सम्बन्धित निकायले थारू संस्कृति, पहिरन, रैथाने परिकार र सिपलाई प्रोत्साहन गर्न सक्नुपर्छ ।


प्रतिक्रिया