इन्द्रजात्रा मनाइदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र २४, २०७९ | काठमाडौं

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा लगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ ।

इन्द्रजात्राको अवसरमा आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ । जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । आजको दनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । काठमाडौाको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा शुभारम्भ गरी आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ । 


प्रतिक्रिया