ए डिभिजन लिगमा मनाङ र थ्रीस्टारको सुखद अन्त्य

फाल्गुन २, २०७६ | ललितपुर

डिफेण्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सुखद अन्त्य गरेका छन् । 

उपाधि विजेताको टुंगो भने त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच भोलि हुने सिजनकै अन्तिम खेलले लगाउनेछ । 

लिग चरणको आफ्नो अन्तिम खेलमा आज जावलाखेल युथ क्लबमाथि १–० को साँघुरो जित निकाल्दै मनाङले कम्तीमा तेस्रो स्थान कब्जा गरेको छ । 

८ मा जित र ४ मा बराबरी गरेको मनाङ २८ अंकमा तेस्रो स्थानमा छ । एक खेल कम खेलेको मच्छिन्द्रको समान अंक भएपनि गोल अन्तरमा मनाङ पछाडि परेको छ । 

आर्मीसँगको खेलमा भोली मच्छिन्द्र कम्तीमा ५–० ले पराजित भए, मनाङ दोस्रो स्थानमा उक्लनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा मनाङलाई जित दिलाउन ७५ औं मिनेटमा निशान लिम्बुले एक मात्र गोल गरे । १९ अंकमा जावलाखेल छैठौं स्थानमा रह्यो ।

अर्को खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई २–० ले पराजित गर्‍यो । चौंथो स्थान पक्का गरेको थ्रीस्टारले ८ मा जित र २ मा बराबरी गर्दै २६ अंक हात पार्‍यो । 

थ्रीस्टारको जितमा अनन्त तामाङ र लाल रामाउईयाले गोल गरे । १५ अंक भएको च्यासल आठौं स्थानमा रह्यो ।

आजै भएको अर्को खेलमा हिमालनय शेर्पाले न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गर्‍यो । तेस्रो जितसँगै हिमालयन १० औं स्थानमा रह्यो ।

हिमालयनको जितमा स्टेफन समिर र त्रिदेव गुरुङले गोल गरे । एनआरटीका राजेश परियारले सान्त्वना गोल फर्काए । एनआरटी १५ अंकमा नवौं स्थानमा रह्यो । शेर्पा १४ अंकमा एक स्थान पछि परेको हो ।  


प्रतिक्रिया