चर्च ब्वाईज र मनाङ मस्र्याङ्दीको गोलरहित बराबरी

जेष्ठ ११, २०८०

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाईज युनाइटेड र मनाङ मस्र्याङ्दी क्लबले गोलरहित बराबरी खेलेका छन् । ललितपुरको च्यासल मैदानमा चर्च व्वाइजले तालिकाको ११ औं स्थानमा भएको मनाङलाई बराबरीमा रोकिदै अंक बाँडेपछि दोस्रो स्थानको मच्छिन्द्रसँगको अंक दूरी बढाउने अवसर गुमाएको छ । चर्च व्वाइज र मच्छिन्द्रबीच तीन अंकको मात्र भिन्नता छ । उसले २१ खेलबाट ३८ अंक जोड्दा दोस्रो स्थानको मच्छिन्द्रको ३५ अंक छ । चर्च व्वाइजलाई बराबरीमा रोकेको मनाङ भने २५ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

यसैबीच, अर्को खेलमा फ्रेण्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै स्थान सुधार गरेको छ । ललितपु्रको सातदोबाटोस्थित एन्फा मैदानमा फ्रेन्ड्सका लागि विदेशी खेलाडी टोरिक जेब्रिनले दुई तथा रफिक अमिनु र प्रकाश बुढाथोकीले एक/एक गोल गरेका थिए । जितपछि फ्रेन्ड्स २४ अंक सहित १२ औं स्थानमा छ । फ्रेन्डस्ले एक स्थान सुधार गर्दा संकटा तालिकाको १३ औं र एफसी खुमलटार १४ औं स्थानमा छन् । 


प्रतिक्रिया