एन्फाले अन्याय गरेको क्लबहरुको आरोप

जेष्ठ १२, २०८०

शहिद स्मारक ए डिभिजन लिगका क्लबहरुले अखिल नेपाल फुटबल संघ एन्फाले आफुहरुमाथि अन्याय गरेको आरोप लगाएका छन् । विभिन्न १० क्लबले आज सामूहिक पत्रकार सम्मेलन गर्दै एन्फाले दोस्रो किस्ताको तयारी खर्च, म्याचको पैसा, खेलाडीले पाउनु पर्ने म्यान अफ दि म्याचको रकम समेत उपलब्ध नगराएर आफूहरुमाथि अन्याय गरेको आरोप लगाएका हुन् ।

संकटा क्लबका अध्यक्ष एवं एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले पहिलो लेग सकिसक्दा पनि म्याच मनि नपाएको गुनासो गरे । आफूहरुले अनुदान नमागेको र हक मागेको उनले बताए ।

तयारी खर्च स्वरूप एन्फाले ए डिभिजनका क्लवलाई पहिलो किस्तामा १५ लाख, दोस्रो किस्तामा १० लाख र तेस्रो किस्तामा ७ लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ताको रकम भने क्लबले पाईसकेका छन् । यस्तै एन्फाले हरेक खेलको विजेतालाई म्याच मनि वापत ५० हजार, खेल बराबरी भएका २५–२५ हजार र म्यान अफ दि म्याचलाई १० हजार दिने निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा मछिन्द्र क्लव, खुमलटार क्लव, मनाङमस्र्याङ्दी, संकटा, हिमालयन शेर्पा, न्युरोड टीम एनआरटी, फ्रेन्ड्स क्लव, सातदोबाटो युथ क्लव, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लबका प्रतिनिधि उपस्थित थिए ।


प्रतिक्रिया