ए डिभिजन लिगः उपाधि होडमा रहेका मच्छिन्द्र र जावलाखेल क्लवलाई धक्का

जेष्ठ १३, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलको जारी सिजनमा उपाधि होडमा रहेका मच्छिन्द्र क्लव र जावलाखेल क्लवलाई अर्को धक्का लागेको छ ।

 दोस्रो लेगको नवौं चरणको पहिलो खेलमा उपाधी दाबेदार जावलाखेल युथ क्लब विभागीय टोली एपीएफ क्लवसँग २–० गोल अन्तरमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफलाई जित दिलाउन अर्माण्ड बेड्युम र आभाष लामिछनेले एक/एक गोल गरे । विजयी एपीएफले २९ अंक बनाएको छ । जावलाखेल ३४ अंक जोडेर तेस्रो स्थानमा छ ।

यसैबीच उपाधी दाबेदार मानिएको मच्छिन्द्र फुटबल क्लवले विभागीय त्रिभुवन आर्मीसँग बराबरी खेलेको छ । ललितपुरको च्यासल मैदानमा १७ औं मिनेटमा दिनेश हेञ्जनको गोल मार्फत आर्मीले अग्रता लिएको थियो ।

 ६० औं मिनेटमा आर्मीका युद्द शाहीले गरेको आत्मघाती गोलमार्फत मच्छिन्द्रले बराबरी गरेको हो । बराबरीका कारण मच्छिन्द्रले पहिलो स्थानको चर्च व्वाइजसँगको अन्तर घटाउने मौका गुमाएको छ । मच्छिन्द्रको ३६ अंक हुँदा चर्च व्वाइजको ३८ अंक छ । आजको बराबरीपछि आर्मीले समग्रमा ३० अंक जोडेको छ ।


प्रतिक्रिया