आईपीएलको उपाधि चेन्नईलाई

जेष्ठ १६, २०८० | काठमाडौं

चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १६ औं संस्करणको उपाधि जितेको छ । गएराति भएको फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई डकवर्थ लुइस पद्धतिका आधारमा ५ विकेटले हराउँदै उपाधि जित्यो । यो सँगै चेन्नईले पाँचौं पटक आइपिएल क्रिकेटको उपाधि जितेको छ ।

चेन्नई यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल च्याम्पियन बनेको थियो । गुजरातले चेन्नईलाई २ सय १५ रनको लक्ष्य दिएको थियो । तर पहिलो ओभरको तीन बलमै वर्षाका कारण खेल रोकिएपछि डक वर्थ लुइस नियमअनुसार ओभर घटाउँदै चेन्नईलाई १५ ओभरमा १ सय ७१ रनको लक्ष्य दिइएको थियो । चेन्नईका डेभोन कनवेले सर्वाधिक ४७ रन जोडे । यस्तै, शिवम दुवे ३२, ओपनर रुतुराज गायकवाड २६ रनमा आउट भए । गुजरातका मोहित शर्माले ३ र नूर अहमदले २ विकेट हात पारे ।

यसअघि गुजरातको अहमदाबाद क्रिकेट स्टेडियममा चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ९६ रन जोडेपनि हार टार्न सकेन । चेन्नईका मथीसा पथिरानाले २ तथा दीपक चहर र रवीन्द्र जडेजाले १/१ विकेट लिए । 


प्रतिक्रिया