दक्षिण अफ्रीकामा राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

जेष्ठ १९, २०८० | काठमाडौं

आईसीसी विश्वकप एकदीवसीय छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रीकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट अभ्यास थालेको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले अर्को साता नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने छ । पहिलो अभ्यास खेल जेठ २५ गते स्कटल्यान्डसँग खेल्दा, जेठ २७ मा नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्ने तालिका छ ।

टोली गत बुधबार बिहान दक्षिण अफ्रीका प्रस्थान गरेको हो । यता, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई भिसा समस्याका कारण रोकिएका छन् । सम्भवत आज भिसाबारे जानकारी प्राप्त हुने नेपाल क्रिकेट संघ क्यानका म्यानेजर विनोद दासले बताए ।

यस्तै, बलात्कार आरोपित खेलाडी सन्दिप लामिछानेको पेशी केही दिन पछि हुने भएका कारण अन्तिम फैसाला नआएसम्म उनको विदेश भ्रमण रोकिएको छ । विश्वकप एकदीवसीय छनोटका खेलहरु आगामी असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुँदैछन् । राष्ट्रिय टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जानेछन् ।


प्रतिक्रिया