राष्ट्रिय महिला लिग छनोटमा कोशी प्रदेशको लगातार दोस्रो जित

वैशाख १०, २०८१

राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा आज भएको पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेश विरुद्ध २–१ को जित निकालेको हो । कोशीलाई जित दिलाउन दुवै गोल समीक्षा मगरले गरिन् । 

सुदूरपश्चिमका लागि यशोदा चिरालले एक गोल फर्काइन् । खेलको नवौं मिनेटमा उदयपुर मैनामैनीकी समीक्षाको गोल मार्फत कोशीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा समीक्षाले नै टोलीको अग्रता दोब्बर बनाएर जीत निश्चित गरिन् । यशोदाले ४९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो जीतका लागि पर्याप्त बन्न सकेन । दुइसाताअघि पनि चितवनको भरतपुरमा सुदुरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै कोशीले स्वर्ण पदक जितेको हो । सो टिममा तीन खेलाडी परिवर्तन गर्दै कोशी टिम सुर्खेत पुगेको हो । लगातार दोस्रो जीत निकालेको कोशीले दुई खेलमा ६ अंक जोडेको छ । पराजित सुदूरपश्चिमको दुई खेलबाट तीन अंक छ । 

पहिलो खेलमा कोशीले कर्णालीलाई ३–० तथा सुदूरपश्चिमले गण्डकीलाई ५–१ ले पराजित गरेका थिए । विभागीय टिम बाहेक ७ प्रदेश टिमले सहभागिता जनाएको राष्ट्रिय लिग छनोटमा कोशी प्रदेशले अब बैशाख १४ मा लुम्बिनी, १६ गते मधेश र १९ गते बागमती प्रदेशसंग प्रतिष्पर्धा गर्ने टिम मेनेजर केशव कार्कीले जानकारी दिए । सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुनेछन् । वैशाख २० गतेसम्म चल्ने छनौट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया