आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करण आजबाट
माघ २२, २०८१ | काठमाडौं
आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करण आज सुरु हुँदैछ । सहारा क्लब पोखराको आयोजनामा आगामी फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी भएका छन् ।
सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक क्लबसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । यस्तै, समूह ‘बी’ मा एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबले विभागीय नेपाल पुलिस क्लबको सामना गर्नेछ । आहा–रारा गोल्डकपमा पुलिस र सहाराबीच पाँचपल्ट भेट भएको छ । पाँचैपल्ट सहारा क्लब पराजित छ । सहाराले सुशील लामाको कप्तानीमा टोली मैदानमा उतार्दै छ । पुलिसको कप्तानी राम वाजीले सम्हाल्ने छन् ।
फागुन ३ मा हुने फाइनलको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छन् । गत संस्करणमा त्रिभुवन आर्मीले थ्री स्टारलाई हराएर उपाधि जितेको थियो ।
यसैबीच सहारा क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गर्ने भएको छ । प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । सनिशलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित उद्घाटन समारोहमा सम्मानित गरिनेछ ।
सो पुरस्कार बापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रदान गर्दै आएका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत क्लबले बर्सेनि एक राष्ट्रियस्तरको फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ ।