क्यानाडाविरुद्धको टी–२० सिरिजमा नेपालको अर्को हार

आश्विन १६, २०८१ | काठमाडौं

नेपालले त्रिकोणात्मक ट्वान्टी–२० सिरिज अन्तर्गत क्यानाडाविरुद्धको खेलमा दोस्रो हार बेहोरेको छ । किंग सिटीस्थित मैदानमा गएराति भएको खेलमा नेपाल तीन बलको खेल बाँकी छँदा ४ विकेटले पराजित भएको हो । 

घरेलु टोली क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । 

पहिलो विकेटका लागि अनिल साह र आरिफ सेखले ७० रनको बलियो सुरुआत दिलाए पनि नेपालले त्यसको फाइदा लिन सकेन् । अनिलले ४१ र आरिफले ३० रन बनाएर आउट भए । अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । कप्तान रोहित पौडेलले ४ रन मात्र जोड्न सके । 

जवाफमा क्यानाडाले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । क्यानडाका लागि ओपनर दिलप्रित बाजवाले २५ रन बनाए भने कप्तान निकोलस किरटनले २६ रनको योगदान दिए । 

नेपाल यसअघि क्यानडाविरुद्धको ट्वान्टी–२० सिरिजको आफ्नो पहिलो खेलमा १४ रनले पराजित भएको थियो । सिरिजको अर्को खेलमा नेपाल ओमानविरुद्ध भने विजयी रहेको थियो । 

नेपालले यसअघि क्यानडा भ्रमणका क्रममा घरेलु टिमविरुद्ध खेलेका दुवै एक दिवसीय पनि गुमाएको थियो । लिग–टूको त्रिकोणात्मक सिरिज र त्यसपछिको टी–२० सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध जित हासिल गर्न सकेको छैन । अब नेपालले आज फेरि ओमानको सामना गर्नेछ ।


प्रतिक्रिया