पोखरा र विराटनगरले एनपीएलको प्लेअफ खेल्ने सम्भावना समाप्त
मंसिर २९, २०८१ | काठमाडौं
पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग क्रिकेटको प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ ।
काठमाडौं गुर्खाजसँग ६ विकेटले पराजित भएसँगै पोखराको प्लेअफ खेल्ने सम्भावना समाप्त भएको हो । त्यस्तै ६ वटा खेल खेलेको विरानगर तालिकाको छैटौं स्थानमा पुगेपछि प्लेअफ खेल्ने उसको सम्भावना समेत सकिएको हो ।
यसअघि लुम्बिनी लायन्स प्लेअफ समिकरणबाट बाहिरिसकेको छ । विराटनगर भन्दा माथि काठमाडौं गुर्खाज पाँचौ र कर्णाली याक्स चौथो स्थानमा छन् । अङ्क तालिका अनुसार एनपीएलका लागि प्लेअफ खेल्ने ३ टोलीको भने अझै टुङ्गो लाग्न बाँकी छ । जनकपुर बोल्ट्स प्लेअफमा पुगिसक्दा सुदुरपश्चिम, चितवन राइनोज, कर्णाली याक्स र काठमाडौं गुर्खाज अर्को चरणमा पुग्ने दौडमा छन् ।
आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्समाथि विजयी भएसँगै काठमाडौं गुर्खाजले प्लेअफ खेल्ने सम्भावना कायमै राखेको हो । पोखरा एभेन्जर्सले दिएको १ सय ३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर एक बलमा चार विकेटको क्षतिमा पूरा गर्यो ।
काठमाडौंका लागि स्टीफन एस्किनाजीले सर्वाधिक ६० रन बनाए । माईकल लेभिटले ३२, जेरार्ड इरामसले अविजित २५ र भीम सार्कीले २२ रन बनाए । त्रिवि क्रिकेट मैदानमा पोखराले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।
जनकपुर चितवतसँग ३२ रनले पराजित
आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स चितवन राइनोजसँग ३२ रनले पराजित भएको छ । जारी प्रतियोगितामा जनकपुरको यो दोस्रो हार हो भने चितवनको चौथो जित हो ।
त्रिवि क्रिकेट मैदानमा सुरुवाती ब्याटिङ गर्दै चितवनले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १८ ओभरमा अल आउट हुँदै १ सय ४८ रनमा समेटियो । जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ६५ रन बनाए । २४ बल खेलेका उनले ६ छक्का र ५ चौका सहित सो रन बनाएका हुन् ।
जारी एनपीएलमा सर्वाधिक छिटो ५० रन बनाउने कीर्तिमान उनै जेम्सको नाममा रह्यो । जनकपुरलाई सस्तैमा समेट्ने क्रममा चितवनका रिजन ढकाल, सोहेल तान्भी र कुशल मल्लले समान २–२ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत अब भोलि प्लेअफ समिकरणबाट बाहिरिसकेको विरानगर किङ्ग्सले काठमाडौं गुर्खाजको सामना गर्दा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।