प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट माघ १ देखि

फाइल तस्बिर 

पुस २३, २०८१ | काठमाडौं

प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ १ गतेदेखि धनगढीमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै ९ टोली सहभागी हुने प्रतियोगिता धनगढीमा हुने जानकारी गराएको हो । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता ११ दिनसम्म चल्नेछ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली मैदानमा उतार्ने छ । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा गत वर्षको उपविजेता कोशी प्रदेशसहित आर्मी, बागमती प्रदेश र मधेश प्रदेश छन् ।

समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछ भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ । सुपर फोरमा एक समूहका टिमले अर्को समूहको टिमसँग खेल्नेछन् । 

सुपर फोरमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफ क्लबबीच दोस्रो खेल हुनेछ ।


प्रतिक्रिया