जय ट्रफी एलिट कपको सुरुवाती दुई खेल बराबरीमा सकियो
पुस २२, २०८१ | काठमाडौं
जय ट्रफी एलिट कप प्रतियोगिताअन्तर्गत सुरुवाती दुवै खेल बराबरीमा सकिएका छन् ।
वीरगञ्जमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा जनकपुरमा सम्पन्न बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल बराबरीमा सकिएको हो ।
वीरगञ्जमा भएको खेलमा आर्मीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेटको क्षतिमा ८८ रन बनाएको स्थितिमा दोस्रो दिनको खेल सकिएपछि नतिजा बराबरीमा टुंगिएको हो । त्यसअघि दोस्रो इनिङ्समा आर्मीले १ सय ७५ रन जोडेपछि पुलिसले १ सय ७२ रनको लक्ष्य पाएको थियो । पहिलो इनिङ्समा आर्मी १ सय २१ रन र पुलिस १ सय २५ रनमा समेटिएका थिए ।
जनकपुरमा भएको खेलमा मधेशले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले ६ विकेटको क्षतिमा ९७ रन बनाउँदा खेल सकिएपछि दुई टोलीबीच बराबरी भएको हो । त्यसअघि मधेशले ९ विकेटको क्षतिमा २ सय ११ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गरेपछि बागमतीले १ सय ६४ रनको लक्ष्य पाएको थियो ।
मधेशका ओपनिङ ब्याटर मयन यादवले दोस्रो इनिङग्समा १२ चौका र २ छक्का प्रहार गर्दै १ सय ६ रनको शतकिय इनिङ्स खेलेका थिए । मधेशले दोस्रो खेल पर्सि बुधवार विरगंजमा पुलिससँग खेल्दा, बागमतीले सोही दिन जनकपुरमा आर्मीसँग खेल्नेछ ।