च्याम्पियन्स ट्रफीको फाइनल पुग्न दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

फाल्गुन २१, २०८१ | काठमाडौं

आईसीसी च्याम्पियन्स ट्रफी एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने तीन बजे सुरु हुनेछ । दक्षिण अफ्रिकाले समूह ‘बी’ को विजेता र न्युजिल्याण्डले समूह ‘ए’ को उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको हो । 

दक्षिण अफ्रिका यस प्रतियोगितामा अपराजित छ भने न्युजिल्याण्डले भारतसँग हार व्यहोरेको थियो । आजको खेलको विजेताले उपाधिका लागि आइतबार भारतको सामना गर्नेछ । फाइनल खेल संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

यसअघि पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारतलसे उपाधि यात्रा तय गरेको हो । योसँगै भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । यसअघि भारत सन् २०१३ र २०१७ मा फाइनल पुगेको थियो । ८ वर्षयता च्याम्पियन्स ट्रफी पहिलो पटक आयोजना भएको हो ।

आठ राष्ट्र सहभागी प्रतियोगिताको आयोजनास्थल पाकिस्तान जान अस्वीकार गरेको भारतले आफ्ना खेल दुबईमा खेल्दै आएको छ । भारत फाइनल नपुगेको भए पाकिस्तानको लाहोरलाई फाइनलको वैकल्पिक खेलस्थलको रुपमा राखिएको थियो ।


प्रतिक्रिया