लमहीमा सुरु भयो प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता

फाल्गुन २५, २०८१ | दाङ
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखि लमहीमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गरे भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गर्नुभयो ।
नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता एकसाथ दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको छ । प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।’
खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताउनुभयो ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।