मानसिक स्वास्थ्यबारे सचेतनाका लागि आजबाट तीन महिनाको अभियान शुरु
मंसिर २४, २०८२ | काठमाडौं
सरकारले मानसिक स्वास्थ्यबारे सचेतनाका लागि तीन महिनाको अभियान शुरु गरेको छ । ‘मनको कुरा गरौँ’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले अभियान शुरु गर्नुभएको हो । अभियान आगामी फागुन ३० गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । अभियान शुरुवात् कार्यक्रममा बोल्दै मन्त्री गौतमले मानसिक स्वास्थ्यको विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । समुदाय तहसम्म अभियान सञ्चालन गरिने उहाँको भनाइ छ ।
मानसिक स्वास्थ्य समस्या पहिचान गरी समयमै उपचारमा जान आम नागरिकलाई आग्रह गर्ने लगायत गतिविधि सञ्चालन गर्न लागिएको सम्वद्ध अधिकारीहरुले बताएका छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरवहादुर ढकालले नेपालमा मानसिक स्वास्थ्यको अवस्था गम्भीर बन्दै गएकाले सचेतना आवश्यक भएको बताउनुभयो । मानसिक स्वास्थ्य समस्या निराकरणका लागि निशुल्क रुपमा औषधि वितरण गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
जिल्ला र प्रदेश अस्पतालमा पनि बहिरङ्ग र अन्तरङ्ग सेवा विस्तार गर्न लागिएको ढकालले जानकारी दिनुभयो ।










