एमालेमा इतर समूहद्वारा सामूहिक नेतृत्व प्रणालीको मुद्दा

मंसिर २४, २०८२ | काठमाडौं

एमालेको आसन्न महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्षसँग प्रतिस्पर्धा गर्न लागेको इतर समूहले सामूहिक नेतृत्व प्रणालीलाई मुख्य एजेण्डा बनाएको छ । अध्यक्षका प्रत्यासी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू पक्षीय नेताहरु समेत सहभागी कार्यक्रममा बोल्दै विधि पद्धति अनुसार अघि नबढ्दा पार्टी चल्न नसक्ने बताउनुभएको छ ।

अघिल्ला दुई महाधिवेशनमा ओलीको पक्षबाट प्रतिस्पर्धा गरेका पोखरेलले यसपटक पूर्व राष्ट्रपति विद्या भण्डारीको समर्थनमा अध्यक्षका लागि लड्ने तयारी गर्नुभएको हो । महाधिवेशनमा हारेपनि एमालेबाट अलग नहुने उहाँको भनाइ छ । नेता भीम रावल र माधवकुमार नेपालको प्रसंग उल्लेख गर्दै पोखरेलले भन्नुभयो ।

अध्यक्ष ओलीसँग चुनावी प्रतिस्पर्धा र आन्तरिक विवादका कारण नेताहरुले एमाले नै छाड्नुपरेको टिप्पणी भइरहेका बेला पोखरेलको धारणा सार्वजनिक भएको हो । अर्को प्रसंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले जेन जी आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न गठित आयोगमा अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वयान दिनुपर्ने बताउनुभएको छ । गौरीवहादुर कार्की नेतृत्वको आयोगमा बयान नदिने अडान ओलीले राखिरहेका बेला पोखरेलले सो धारणा राख्नुभएको हो ।

सञ्चारकर्मीसँग आज गरिएको सम्वाद कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलको पक्षमा रहेका युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायत नेताहरु सहभागी भएका थिए । एमालेको महाधिवेशन आगामी शनिवार काठमाडौंमा शुरु हुँदैछ । 


प्रतिक्रिया