अस्ट्रेलियन ओपन कराते च्याम्पियनशिपमा एरिकालाई स्वर्ण

चैत्र २३, २०८१ | काठमाडौं
नेपालकी एरिका गुरुङले अस्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्याम्पियनशिपमा स्वर्ण पदक जितेकी छन् । शुक्रबार सुरु प्रतियोगितामा एरिकाले ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।
हिमालयन वारियर नाम पाएकी एरिकाको सफलता निकै ठूलो भएको नेपाल किराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले बताए । उनका अनुसार २ महिनापछि उज्वेकिस्तानमा हुने एकेएफको वार्षिक प्रतियोगिता एरिकाका लागि अझै महत्वपूर्ण रहेको छ ।
दुई वर्ष अघि चीनमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी एरिकाले एसियन च्याम्पियनसिपमा पनि रजत नै जितेकी थिइन् ।
सिड्नीमा ६७ केजी मुनिमा सन्तोष श्रेष्ठ, ६१ केजी मुनि सविना श्रेष्ठ, ५५ केजी मुनि पुष्पका लामा र ५० केजी मुनि वर्ष बुढा मगरले कांस्य पदक जितेका छन् ।
प्रतियोगितामा अस्ट्रेलियाबाट प्रतिस्पर्धा गरेका नेपाली खेलाडीमा विजय श्रेष्ठले ६० केजी मुनि रजत तथा दिवस श्रेष्ठले ८४ केजीमाथि र सोनाम लामाले ६० केजी मुनि कांस्य पदक जितेका छन् । प्रतियोगितामा सहभागी हुन नेपालबाट पाँच खेलाडीसहित ९ जनाको टोली सिड्नी गएको थियो ।