इलिमिनेटरमा चितवन र पोखरा भिड्दै

वैशाख ७, २०८२ | काठमाडौं
नेपाल सुपर लिग फुटबल प्रतियोगिताको इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे चितवन र पोखरा आमनेसामने हुनेछन् ।
इलिमिनेटरको विजेताले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ । चितवन र पोखरा दुबै टोली इलिमिनेटर जित्दै दोस्रो क्वालिफायरमा पुग्ने योजनामा हुनेछ ।
साविक विजेता ललितपुर सिटी एफसीसँग पराजित भएकोले धनगढी दोस्रो क्वालिफायरमा पुगेको हो । यसअघिका दुई संस्करणमा धनगढीले पहिलो क्वालिफायर जितेको थियो ।
यसअघि गएराति सम्पन्न पहिलो क्वालिफायरमा धनगढीलाई हराएर ललितपुर लगातार दोस्रोपल्ट नेपाल सुपर लिग फुटबलको उपाधि नजिक पुगेको हो । ललितपुरले दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
अब डिफेन्डिङ च्याम्पियन ललितपुरसामु उपाधि रक्षाको अवसर हुनेछ । पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटीले जितेको थियो ।