नेपालसँग नेदरल्यान्ड्स १६ रनले पराजित

जेष्ठ २८, २०८२ | काठमाडौं

नेपालले विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ । नन्दन यादव र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै नेपाललाई स्कटल्यान्ड भ्रमणमा अर्को ऐतिहासिक जित दिलाएका हुन् । लिग–२ मा नेपालको यो तेस्रो जित हो । 

नेपालले दिएको २ सय ३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेदरल्यान्ड्स डन्डीको फोर्टहिलमा ४९ ओभर २ बलमा २ सय २० रनमा अलआउट भयो । 

नेदरल्यान्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ३६, कप्तान स्कट इडवार्डसले ३० र माइकल लेभिटले २७ रन बनाए । नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । ललित राजवंशीले २ विकेट हात पारे ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३६ रन जोडेको थियो । तर, आरिफ शेख खेलको दौरानमा डेन्जर जोनमा दुई पटक दौडिएका कारण अन फिल्ड अम्पायरले नेपाललाई १० पेनाल्टी रन लगाइएपछि नेदरल्यान्ड्सले ब्याटिङ सुरु गर्दा टोलीको खातामा सिधै १० रन थियो । 

आरिफले सर्वाधिक ८४ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा आरिफको यो व्यक्तिगत उच्च स्कोर पनि हो । भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५÷३५ रन बनाए । 

नेपालले यस लिग–२ को शृंखलामा ४ मध्ये ३ खेल जितेर स्कटल्यान्ड भ्रमणलाई स्मरणीय बनाएको छ । विदेशी भूमिमा नेपालको उत्कृष्ट प्रदर्शनको आफ्नो कीर्तिमानलाई बराबरी गरेको हो । 

१६ खेलमा नेपालले १२ अंक जोडी सातौं स्थानमा छ । लिग–२ मा नेदरल्यान्ड्सको यो लगातार चौथो पराजित हो । यद्यपि टोली २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । 


प्रतिक्रिया