दुई सय ४० बढी यात्रु सवार एअर इण्डियाको विमान भारतको अहमदावादमा दुर्घटना

जेष्ठ २९, २०८२ | काठमाडौं

दुई सय ४० भन्दा बढी यात्रु सवार एअर इण्डियाको विमान भारतको अहमदावादमा दुर्घटना भएको छ । भारतीय समयअनुसार अपरान्ह १ बजरे ३८ मिनेटमा लन्डनका लागि उडेको विमान अहमदावादको अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफलगत्तै दुर्घटनामा परेको हो । विमानस्थलबाट उडेको विमान दुई मिनेटपछि अग्लो भवनमा ठोक्किएको र कालो धुँवाको मुस्लो देखिएको भिडियोेहरु सार्वजननिक भएका छन् । 

विमानमा चालक दलका सदस्य सहित २ सय ४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । यात्रुमध्ये १ सय ६९ जना भारतीय, ५३ बेलायती नागरिक, ७ पोर्चुगल र एक क्यानेडेली नागरिक थिए । विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानी समेत सवार रहेको समाचारमा जनाइएको छ । तत्कालै उद्धार शुरु गरिएपनि यात्रुको अवस्थाबारे पूर्ण विवरण आइसकेको छैन ।

विमान दुर्घटनालगत्तै त्यहाँको नागरिक उडडयन मन्त्रालयले आपतकालिन बैठक डाकेको थियो । सो बैठकपछि नागरिक उडडयन मन्त्री राम मोहन नायडू र गृहमन्त्री अमित शाह घटनास्थलको निरिक्षणको लागि जानुभएको छ । दुर्घटनाको कारणबारे त्यहाँका अधिकारीहरुले अनुसन्धान गरिरहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले माइक्रो ब्लगिङ साइटमा एक पोष्ट सार्वजनिक गर्दै अहमदाबादको वियोगान्तले स्तब्ध र दुःखी बनाएको बताउनुभएको छ । सो दुर्घटना भारतीय उडड्यन क्षेत्रकै सबैभन्दा ठूलो मध्येको एक हो । यसअघि, सन् २०२० अगस्ट ७ मा एयर इन्डियाकै जहाज केरलाको कालिकट अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

यसैबीच, नेपाल सरकारले भारतमा एअर इण्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारत सरकार र भारतीय जनता तथा सो दुर्घटनामा परि आफ्ना सदस्य गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेको हो । दुखदको घडीमा नेपाल सरकार भारत सरकारसँग ऐक्यवद्धतासहित सहानुभूति प्रकट गर्दै गरिएको विज्ञप्तिमा उल्लेख छ ।  


प्रतिक्रिया