अमेरिकामा ट्रम्प प्रशासनको आप्रवासन नीतिविरुद्ध आन्दोलन चर्किँदै

जेष्ठ २९, २०८२ | काठमाडौं

अमेरिकामा गत सातादेखि आप्रवासन नीतिविरुद्ध आन्दोलन चर्किँदै गएको छ ।

 राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि बढाइरहेको आप्रवासन नीतिविरुद्ध ६ दिनदेखि क्यालिफोर्निया राज्यको लस एन्जलसमा आक्रामक प्रदर्शनसँगै सुरु भएको आन्दोलन अमेरिकाका विभिन्न राज्यका मुख्य सहरहरुमा समेत चर्किन थालेको हो ।

 कागजातविहीन आप्रवासी पक्राउ संख्या बढाउन युएस इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले छापामारी कारबाही बढाउन थालेपछि दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरु सडक आन्दोलनसँगै आक्रमक प्रदर्शनमा उत्रिएका हुन् । मंगलबारदेखि लस एन्जलससँगै कोलोराडो राज्यको डेन्भर, सिकागो डाउनटाउन क्षेत्र र न्यूयोर्कको म्यानहटनमा आप्रवासीले प्रर्दशन गरेका थिए ।

 अमेरिकी संचारमाध्यका अनुसार लस एन्जलसबाहेक डेन्भर, सिकागो र म्यानहटनमा शान्तिपूर्वक प्रदर्शन गरिए पनि धेरै संख्यामा प्रहरी परिचालन गरिएको थियो । डेन्भरमा प्रहरीले आन्दोलन आक्रामक हुने आशंका गर्दै अश्रु ग्याससमेत प्रहार गरेको सिएनएनले उल्लेख गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ४५ जना पक्राउ परेका छन् ।  


प्रतिक्रिया