१४ औं राष्ट्रपति रनिङ खेलकुद चार वटा जुनियर राष्ट्रिय कीर्तिमान

जेष्ठ २९, २०८२ | काठमाडौं
१४ औं राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन आज एथलेटिक्समा थप चार वटा जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र÷छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रचे ।
छात्रा ८ सय मिटर दौड २ मिनेट १७ दशमलव ९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन् । छात्र ४ गुणा ४ सय मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र सन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते । सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान स्थापित गरे ।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । दोश्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेश्रो तथा अन्तिम दिन भोली ८ स्वर्णको टुंगो लाग्ने छ ।