इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनल विजयी

आश्विन १३, २०८२ | काठमाडौं
आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडविरुद्ध २–१ को पुनरागमन जित दर्ता गरेको छ ।
सेन्ट जेम्स पार्कमा गएराति भएको खेलमा पाहुना टोली आर्सनललाई जित दिलाउन मिकेल मोरिनो र गाब्रियल म्यागाल्हेसले गोल गरे । न्युक्यासलका लागि निक वोल्टेमेडले गोल गरे ।
खेलको ३४औं मिनेटमा वोल्टेमेडको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो । उनले स्यान्द्रो टोनालीको पासलाई सदुपयोग गरे ।
खेलको अन्त्यतिर सम्हालिन नसक्दा युक्यासल निरास बन्यो । ८४औं मिनेटमा मोरिनोले आर्सनललाई बराबरीमा ल्याए । उनले डेक्लान राइसको पासलाई पोस्टको दिशा दिए ।
इन्जुरी समयमा म्यागाल्हेसले गोल गर्दै आर्सनलाई २–१ को रोमाञ्चक पुनरागमन जित दिलाए । यस पटक मार्टिन ओडेगार्डले गोलको अवसर सिर्जना गरेका थिए । जितसँगै ६ खेलमा १३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ ।
न्युक्यासल समान खेलबाट ६ अंकका साथ १५औं स्थानमा छ । गएराति नै सम्पन्न अर्को खेलमा एस्टन भिल्लाले फुलहमलाई ३–१ गोलले पराजित भएको थियो ।