टाइगर कप भलिबलमा न्यू डायमन्ड र आर्मीको विजयी सुरुवात

माघ ९, २०८२ | काठमाडौं

पोखरामा आजदेखि सुरु छैटौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ टिप टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लबले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा आज सम्पन्न खेलमा डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको हो ।

डायमन्डले आर्मीलाई २५–१३, २५–१६ र २५–८ ले हरायो । पुरुषतर्फको खेलमा आर्मीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो ।

आर्मी २५–१५, २५–२२ र २५–१० ले विजयी भयो । टाइगर ग्रुप अफ पोखराकोे आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिमको सहभागिता छ ।

महिला र पुरुष दुवैतर्फ राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोलीले फाइनल तथा तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस पटकदेखि पुरस्कार राशिमा वृद्धि गरिएको छ ।

महिला र पुरुषतर्फ दुवैतर्फको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, दोस्रो हुनेले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तेस्रो हुनेले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता आगामी माघ १७ गतेसम्म संचालन हुनेछ ।


प्रतिक्रिया