एन्फा र फुटबल खेलाडी संघबीच सहमतिपछि ए डिभिजन लिगको मिति तय

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २६, २०८२ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएपछि ललितपुरको सातदोबाटो स्थित एन्फा मुख्यालयमा तालाबन्दी खुलेको छ । सहिद स्मारक ए डिभिजन लिगको मिति तोक्नेसहित ३ बुँदे मागसहित खेलाडी संघले गत आइतवार तालाबन्दी गरेको थियो । 

एन्फा महासचिव किरण राईको उपस्थितिमा नेपाल फुटबल खेलाडी संघसँग भएको छलफलपछि ए डिभिजन लिग चैत ३० गतेबाट सुरु गर्ने सहमति बनेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

त्यस्तै साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम एन्फाले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । खेलाडीको सेवा सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ । 


प्रतिक्रिया