नेपाल तेस्रो पटक विश्वकपमाः इंग्ल्याण्ड विरुद्ध पहिलो पटक खेल्ने
माघ २४, २०८२ | काठमाडौं
भारत र श्रीलङ्काको संयुक्त आयोजनामा टी–२० पुरुष विश्वकप क्रिकेट शनिबारबाट शुरु भएको छ । विश्वकपमा नेपाल सहित २० राष्ट्र सहभागी छन् । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा नेपालले पहिलो पटक विश्वकप खेलेको थिायो । तर त्यसपछिको १० वर्ष विश्वकपबाट बाहिर रहेको नेपाली टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजको आयोजनामा अघिल्लो संसकरणमा सहभागी भएपछि पुनः अहिले भारत र श्रीलङ्काको संयुक्त आयोजनामा भएको विश्वकपमा आफ्नो चुनौती दिन तयार भएको छ ।
भारतको मुम्बईस्थित वाङ्खडे क्रिकेट रंगशालामा नेपालले विश्व क्रिकेटको शक्ति राष्ट्र इंग्ल्याण्ड विरुद्ध खेल्दै विश्वकपका खेलहरु शुरु गर्नेछ । यस पटक समूह ’सी’ मा रहेको नेपालले इंग्ल्यान्ड सहित वेस्ट इन्डिज, स्कटल्याण्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ । आईतबार इंग्ल्यान्ड विरुद्ध खेल्दै विश्वकप शुरु गर्ने नेपालले माघ २९ गते विहिबार पहिलो पटक विश्वकप खेल्न लागेको इटालीसँग प्रतिस्पर्धा गर्ने छ भने फागुन ३ गते अर्को शक्ति राष्ट्र वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ । विश्वकपको तयारीका लागि नेपाली टोलीलले श्रीलङ्का र भारतमा स्थानीय टोलीसँग अभ्यास खेल समेत खेलेको थियो । झण्डै एक महिनासम्म चलेको अभ्यासका क्रममा टोलीको तयारी राम्रो भएको कप्तान रोहित पौडेल बताउँछन् । सोहि तयारीले टोली सुपर एट सम्म पुग्ने लक्ष्य राखेको पौडेलले बताए ।
सन् २०१४ मा बंगलादेशमा र २०२४ मा अमेरिका तथा वेस्ट इन्डिजमा भएको विश्वकपपछि नेपालको यो तेस्रो विश्वकप यात्रा हो । लगातार दोस्रो पटक विश्वकपमा छनोट भएर नेपालले आफ्नो क्रिकेट शक्तिलाई विश्वसामू प्रमाणित गरिसकेको छ । केहि महिना अघि भएको टी–२० सिरिजमा समेत नेपालले टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजलाई पराजित गरेको थियो । विश्वकपसम्म आइपुग्दा सोहि टोली अहिले प्रतिस्पर्धीका रुपमा नेपालले पाएको छ । एसियाली मुलुकको मौसम र ग्राउण्डको पीच तुलनात्मक रुपमा आफूहरुको पक्षमा हुने भएकाले यसपटक टोलीको प्रदर्शनमा नयाँपन आउने कप्तान पौडेल बताउँछन् ।
नेपालका लागि नयाँ प्रतिद्वन्द्वीका रुपमा खडा भएको इङ्ल्यान्ड पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएको छ । उसले सन् २०१० र २०२२ मा उपाधि समेत जितेको थियो । इंग्ल्याण्ड टी–२० अन्तर्राष्ट्रियमा नेपालले सामना गर्न लागेको छैटौँ टेस्ट राष्ट्र हुनेछ । यसअघि नेपालले भारत, दक्षिण अफ्रिका, बंगलादेश, वेस्ट इन्डिज र जिम्बावेसँग खेलिसकेको छ ।
टी–२० क्रिकेटको विश्व बरियताको तेस्रो स्थानमा रहेको इंग्ल्यान्ड विरुद्ध खेल्नु नेपालका लागी तुलनात्मक रुपमा कठिन देखिन्छ । नेपाल १६ औं स्थानमा रहेको टोली हो । नेपाल भन्दा अघि स्कटल्याण्ड १२ औं र वेस्ट इन्डिज सातौं स्थानमा छन् । २७ औं स्थानमा रहेको इटालीले पनि नेपाल विरुद्ध शसक्त चुनौती दिने देखिएको छ । किनकी उसले यस अघि भएका वार्मअप खेलमा यूएई र क्यानडामाथि जित हात पार्दै आएको छ भने टेस्ट मान्यता प्राप्त आयरल्याण्डलाई समेत पराजित गरेको अनुभव छ । हालसम्मका सबै संस्करणमा सहभागिता जनाएको वेस्ट इन्डिजले पनि सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो । त्यसैले नेपाललाई यी दुई राष्ट्रसँग सामना गर्नु अवसर र चुनौती दुवै बनेको छ ।
नेपालले खेल्ने समूह सीका सबै खेलहरु मुम्बईको वाङ्खडे स्टेडियममा हुनेछन् । जहाँ नेपाली समर्थकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ । नेपालले इटाली र स्कटल्यान्डलाई हराएर इंग्ल्यान्ड वा वेस्ट इन्डिजमध्ये एकलाई स्तब्ध पार्न सकेको खण्डमा नेपाली क्रिकेटमा नयाँ इतिहास रच्नेछ । जसले नेपाललाई छनोट नखेलि फेरी अर्को पटक विश्वकपका लागि तयार रहने अवसर समेत दिनेछ । भर्खरै सम्पन्न वार्म–अप खेलहरुमा नेपालले क्यानडा र यूएईलाई हराएर आफ्नो तयारी चुस्त बनाएको संकेत दिएको छ । यद्यपि चुनौती पनि त्यतीकै देखिएका छन् । इंग्ल्यान्ड र वेस्ट इण्डिज जस्ता पूर्व विश्व कपका विजेताविरुद्ध खेल्नु नेपालका लागि त्यती सहज भने देखिँदैन । सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपको उपाधि अहिलेसम्म भारत, इंग्ल्यान्ड र वेष्ट इण्डिजले समान २÷२ पटक जितेका छन् । पाकिस्तान, श्रीलंका र अष्ट्रेलियाले समान एक÷एक पटक उपाधि उचालेका छन् ।
आगामी मार्च ८ सम्म चल्ने प्रतियोगिताको समूह एमा पाकिस्तान, नेदरल्याण्ड्स, भारत, नामिबिया र अमेरिका छन् भने समूह बीमा अस्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलङ्का र जिम्बावे छन् । समूह सी मा नेपाल सहित इंग्ल्याण्ड, इटाली, स्कटल्याण्ड र वेस्ट इण्डिज छन् । यसअघि बंगलादेश रहेको स्थानमा स्टकल्याण्डले मौका पाएको हो । बंगलादेशले भने सुरक्षाको कारण देखाउँदै भारतमा प्रतियोगिता नखेल्ने जनाएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलले स्कटल्याण्डलाई मौका दिएको हो । विश्वकपमा सहभागी भएका अफगानीस्तान, क्यानडा, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र यूएई समूह डीमा रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीलले सुपर एटमा स्थान बनाउने छन् ।
तेस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरि, सन्दीप जोरा, आरिफ शेख लगायतका खेलाडी छन् । यस्तै सोमपाल कामी, गुलशन झा, लोकश बम, बसिर अहमद, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल पनि विश्वकप खेल्ने नेपाली खेलाडीको सूचीमा छन् । नेपालका लागि सोमपाल कामी विश्वकपका तीन संस्करण खेल्ने एक मात्र खेलाडी बनेका छन् भने शेर मल्ल, नन्दन यादव, बसिर अहमद, आरिफ शेख र लोकेश बमले पहिलो पटक विश्वकप खेल्न लागेका हुन् ।
अघिल्लो संस्करणको विश्वकपमा एक रनले दक्षिण अफ्रिकासँग पराजित भएसँगै नमिठो हार ब्यहोरेको नेपाली क्रिकेट टोलीसामू फेरि एक पटक आफ्नोे क्षमता विश्व जगतलाई देखाउने अवसर आएको छ । यस प्रतियोगितामा अब्बल प्रदर्शन गर्न सकेमा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय क्रिकेटमा थप अवसरका ढोका खुल्ने देखिन्छ भने नेपाली क्रिकेट पनि ठूला प्रतियोगिता नजिक रहेको विश्वलाई सन्देश दिनेछ ।









