जय ट्रफीको उपाधि नेपाल पुलिसलाई
चैत्र ५, २०८२ | काठमाडौं
रशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि लगातार दोस्रो पटक जितेको छ । पुलिसले आज मूलपानीको माथिल्लो क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको हो ।
पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै पुरा गर्यो । गत वर्ष वीरगञ्जमा पनि पुलिसले आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
दिलशाद अली ५७ बल खेलि ४ चौका र १ छक्का प्रहार गरी ३१ र शंकर राना ८ बल खेली २ चौका प्रहार गरि १३ रनमा अविजित रहे । आर्मीका पवन कार्कीले २ र शाहब आलमले १ विकेट लिए । यसअघि १७८ रन बनाउँदा ९ विकेट गुमाएको स्थितीबाट तेस्रो दिनको खेलको सुरुवात गरेको पुलिसले थप ४८ रन जोडेको थियो । पहिलो इनिङ्समा दुवै टोलीले समान २ सय २१ रन बनाएका थिए ।











