एन्फाद्वारा महिला र पुरुष राष्ट्रिय लिग फुटबल स्थगित
चैत्र ५, २०८२ | काठमाडौं
अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक कारण देखाउँदै महिला र पुरुष राष्ट्रिय लिग फुटबल स्थगित गरेको छ । लिगमा सहभागी क्लवलाई पत्राचार गर्दै एन्फाले प्राविधिक कारणवश भन्दै पुरुषतर्फको ३८ वटा खेल स्थगित गरेको हो । एन्फाले प्राविधिक कारणवस अर्को सूचना प्रकाशन नभएसम्मका लागि सहिद स्मारक महिला राष्ट्रिय लिग समेत स्थगित गरेको छ । महिला लिग हिजोबाट मात्र शुरु भएको थियो ।
अध्यागमन विभागले राष्ट्रिय लिगमा पर्यटक भिसामा रहेका विदेशी खेलाडी खेलाइएको विषयमा छानविन थालेको थियो । श्रम स्वीकृति र कार्यसहमतिबिनै विदेशी खेलाडीलाई भित्र्याएपछि क्लवहरु अध्यागमन विभागको छानबिनमा तानिएका छन् ।
कानुनविपरीत विदेशी खेलाडीलाई क्लबमा भित्र्याएको भेटिएपछि विभागले एन्फालाई पत्र काटेको हो । क्लबहरुले उज्वेकिस्तान, जापान, घाना, नाइजेरिया, बेलायत, क्यामरुन, बुर्किनाफासोलगायत देशबाट पर्यटक भिसामा खेलाडी भित्र्याएपनि अध्यागमन विभागबाट कार्यसहमति र श्रमबाट श्रम स्वीकृति लिएका छैनन् ।
विभिन्न क्लबमा खेलाडी बनेर ३८ जना विदेशी नागरिक आबद्ध भएको र उनीहरुले कानुनी प्रक्रिया पूरा नगरेका कारण आवश्यक छानबिन थालिएको बताइएको छ । पटकपटक मौखिक रुपमा जानकारी माग्दा एन्फाले बेवास्ता गरेका कारण आज पत्र नै पठाएर जवाफ मागिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।











