मिस वर्ल्डको ताज जमैकन सुन्दरीलाई

मंसिर २९, २०७६

लन्डन — ६९ औं मिस वर्ल्ड प्रतियोगिताको ताज जमैकाकी टोनी एन सिंहले जितेकी छन् । प्रतिस्पर्धी अन्य एकसय १० मुलुकका सुन्दरीलाई पराजित गर्दै फ्लोरिडा स्टेट युनिभर्सिटीकी ग्रयाजुएट २३ वर्षीया टोनीले विश्व प्रतिष्ठित ताज जितेकी हुन् । जितपछि अश्वेत वर्णकी उनले विश्वभरका महिला तथा बालबालिकाको दीगो परिवर्तनका लागि आफ्नो उपाधि सदुपयोग गर्ने बताइन् । टोनीले मिस टयालेन्ट उपाधि पनि जितेकी छन् ।

लन्डन एक्सेलमा शनिबार अपरान्ह आयोजित प्रतियोगितामा मिस फ्रान्स ओफ्ली मेजिनो फर्स्ट रनर अप र मिस इन्डिया सुमन रतनसिंह रावले सेकेन्ड रनर अपको उपाधि जिते। टप ५ मा छानिएका नाइजेरिया, ब्राजिल, इण्डिया, जमैका र फ्रान्समध्ये मिस जमैकाले मिस वर्ल्डको ताज जितेकी हुन्। टप ५ प्रतियोगीले लोकप्रिय टीभी प्रस्तोता पियर्स मोर्गनको कडा प्रश्न सामना गरेका थिए।

प्रतियोगितामा कन्टिनेन्टल वीनर्समा क्यारिबियनबाट मिस ट्रिनिडाड एण्ड टोबागो, युरोपबाट मिस फ्रान्स, एसियाबाट मिस इण्डिया, अमेरिकाजबाट मिस ब्राजिल र ओसिनियाबाट मिस कुक आइल्यान्ड्सले उपाधि जिते।


प्रतिक्रिया