प्रहरीविरुद्धका गुनासो संकलन गर्न स्थानीय तहमा पेटिका

आश्विन १, २०७७ | मकवानपुर

आफूविरुद्धको गुनासो संकलन गर्न प्रहरीले बागमती प्रदेशको विभिन्न स्थानीय तहहरुमा गुनासो संकलनको लागि पेटिका स्थापना गरेको छ । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङले प्रहरीसँगको गुनासो बुझ्न प्रदेशका दश जिल्लाभित्र (उपत्यका बाहेक) का स्थानीय तहमा गुनासो संकलन पेटिका राखेको हो । 

बिहीवार हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा गुनासो संकलन पेटिका स्थापना गरेर प्रहरीले अभियान सुरु गरेको हो । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले पेटिकामा ताल्चा लगाएर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामालाई चाबी प्रदान गर्नुभयो ।

प्रहरी कार्यालय र प्रहरीबाट सम्पादन भएका काम कारबाही बारे नागरिकबाट प्राप्त गुनासो र सुझाव संकलन गर्ने उद्देश्य प्रदेश प्रहरी कार्यालय जनाएको छ । प्रदेश प्रहरी अन्तर्गतका १० जिल्लामा रहेको १ महानगरपालिका, १ उपमहानगरपालिका, २५ नगरपालिका र सदरमुकाममा रहेको १ वटा गाउँपालिकामा गरी २८ वटा स्थानीय तहमा गुनासो संकलन पेटिका राखिएको छ । 

नागरिकका गुनासोलाई उचित सम्बोधन गरी प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालन सम्बन्धी कार्ययोजना समेत निर्माण गरी सकिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिनुभयो । 

स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडास्तरसम्म तीन चरणमा गरी पेटिका राखिने छ । हरेक महिनाको १ गते पेटिका खोलेर गुनासो तथा सुझाव संकलन गरिनेछ । प्राप्त गुनासो र सुझाव अध्ययन गर्न छुट्दै टोली गठन गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया