डीआइजीमा बढुवा सिफारिस भएकाको पदस्थापनको तयारी

वैशाख ६, २०७७ | काठमाडौं

नेपाल प्रहरीको नायब महानिरीक्षक डीआइजीमा बढुवा सिफारिस भएका १० जनाको नाम अनुमोदनसँगै पदस्थापनको तयारी सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाले डीआईजीमा सिफारिस भएकाहरुको मन्त्रिस्तरीय निर्णय गरेर बढुवा सदर गर्नुहुनेछ । 

आइतबार नै उनीहरुलाई प्रहरी प्रमुख ठाकुर ज्ञवालीले दज्र्यानी चिन्ह प्रदान गर्नुहुनेछ । दज्र्यानी चिन्ह प्रदानपछि उनीहरु कार्यक्षेत्रमा खटिने छन् ।

डीआईजीको पदस्थापन पनि गृह मन्त्रालयले नै गर्छ । बढुवामा सिफारिस विरुद्ध उजुरी दिने सात दिने म्याद हिजो गुज्रिएपछि गृह मन्त्रालयले बढुवाका अन्य प्रक्रिया अघि बढाएको हो । बढुवा सिफारिसमा चित्त नबुझे सिफारिस भएको एक साताभित्र लोकसेवा आयोगमा उजुरी दिनुपर्ने प्रावधान छ । तर, डीआइजीमा बढुवा सिफारिस भएका उनीहरुविरुद्ध कुनै उजुरी परेन । 

गृह मन्त्रालय, प्रदेश १ को प्रमुखको जिम्मेवारी उत्तमराज सुवेदी र ईश्वरबाबु कार्की मध्ये एक जनालाई दिने तयारीमा छ । प्रदेश २ का प्रद्युम्न कार्कीलाई हेडक्वाटर तानेर त्यहाँ बसन्त लामा लाई पठाउने तयारी पनि भईरहेको छ ।

बागमती प्रदेशको नेतृत्व भने धिरजप्रताप सिंहले सम्हाल्ने छन् । लामाको पनि बागमती प्रदेश हाक्ने चाहना छ । यस्तै, गण्डकीमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णालीमा प्रकाशजंग कार्की र सुदूरपश्चिम प्रदेशमा बसन्तकुमार पन्तलाई पठाउने गृहकार्य भईरहेको छ । 

यस्तै, सहकुल बहादुर थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र अरुणकुमार विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी चलिरहेको छ । यस्तै, सीआईबीका निरज शाहीलाई प्रहरी महानिरीक्षको सचिवालयमा तथा प्रदेश २ का प्रहरी प्रमुख कार्कीलाई विशेष ब्यूरोमा सरुवा गर्ने तयारी भईरहेको छ । 

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेल र हाल हेडक्वाटर मै रहेका डीआईजी सूर्य उपाध्यायको भने सरुवा हुने छैन् । उनीहरुको एक वर्ष नपुगेकाले सरुवा नहुने भएको हो । प्रहरीमा इञ्चार्जको रुपमा खटिएको एक वर्षपछि सरुवा हुने प्रचलन छ । 


प्रतिक्रिया