कूटनीतिक मर्यादासँगै चिप्लिएको राष्ट्रवाद

कार्तिक ६, २०७७ | काठमाडौं

प्रख्यात अमेरिकी लेखक मार्क ट्वेनका अनुसार लिनु र दिनुको सिद्धान्त भनेकै कूटनीतिको सिद्धान्त हो । अझ, एक दिने र दश लिने सही अर्थमा कूटनीति हो । नेपाल–भारत सम्बन्धमा कूटनीतिलाई केलाउने हो भने पनि ट्वेनको भनाई हुबहु मिल्छ । 

नेपालमा संविधान जारी हुनुलाई जानकारीमा मात्रै लिएको भारतले त्यसपछि गरेको नाकाबन्दीका बेला भारतीय गुप्तचर संस्था रअ असफल भएको निष्कर्ष निस्केको थियो । त्यसपछि उच्चस्तरीय राजनीतिक छलफल मार्फत् दुई देशबीच सम्बन्ध सुधारका पहलहरु नभएका होइनन् ।

तर, फेरि पछिल्लो समय रअका प्रमुखको कुबेलाको भ्रमण र त्यसलाई नेपाली पक्षले दिएको महत्वले हामी भारतसँग सिधा उच्चस्तरीय राजनीतिक तहको वार्ताबाट झरेर कर्मचारीतन्त्रमा सीमित हुन पुगेका छौं । कूटनीतिमा एकपल्ट फेरि भारतले नेपाललाई मात खुवाएको छ ।

कालापानी–लिपुलेक–लिम्पियाधुराको विषय उठ्न थालेदेखि नै नेपालको ‘एजेन्डा’ मा भारत द्विपक्षीय वार्तामा बस्न मानिरहेको छैन । यस्तोमा परराष्ट्र मन्त्रालयको पत्राचारको जवाफ नदिने भारतका गुप्तचर संस्थाका प्रमुखले नेपालका प्रधानमन्त्रीलाई काठमाडौं ओर्लिएको केही घण्टामा नै भेट्नुले हाम्रो कूटनीतिक सम्बन्ध कसरी आरोलो लाग्दै गएको छ भन्ने देखाउँछ ।

नाकाबन्दीका बेला बिग्रिएको नेपाल–भारत सम्बन्ध, दुई देशले आफ्नो राजनीतिक नक्शामा कालापानी–लिपुलेक–लिम्पियाधुराको भूभभाग समेटेपछि थप चिसिएको छ । चिसोपन अन्त्यका लागि दुई देशबीच ठोस सम्वाद हुन नसकिरहेका बेला भारतीय गुप्तचर एजेन्सीका प्रमुखलाई नेपालका प्रधानमन्त्रीले दिएको ‘स्पेस’ मर्यादित र पद सुहाउँदो छैन ।

नेपालसँग वार्ता र छलफल भारतले कसरी टार्दैछ भनेर बुझ्न गाह्रो छैन । हालका मुख्यसचिव शंकरदास बैरागीले परराष्ट्रसचिव हुँदा भारतका नयाँ विदेश सचिव हर्षबद्र्धन शृंगलालाई पठाएको बधाई सन्देशमा परराष्ट्र सचिवस्तरीय वार्ताबारे स्मरण गराएका थिए । त्यसको जवाफ पठाउनु त कता हो कता उनी छिमेकी भुटान, बंगलादेश र अफगानिस्तान र बंगलादेशको भ्रमणमा निस्किए । तर, नेपाल आउने साइत अझै जुरेन । यसैबाट पनि भारतीय प्राथमिकता छर्लङग हुन्छ ।

रअ प्रमुखको अहिलेको नेपाल भ्रमण औपचारिक हो हैन भन्नेबारे पनि खुलेको छैन । अनौपचारिक भ्रमणमा आएका व्यक्तिले कार्यकारी प्रमुखलाई सजिलै भेट्नु भनेको भारतसँग वार्ताका लागि सबै माध्यमहरु खुला गरिएको भन्ने सरकारी भनाईले पनि बचाउ गर्दैन । 

तर, यसबीचमा नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसान्ध विभागको प्रमुखले पनि दुई पटक भारत भ्रमण गरिसकेको तथ्यलाई नजरअन्दाज गर्न हुँदैन । ती भ्रमण उच्च राजनीतिक तहको वार्ताको वातावरण निर्माणका लागि थिए वा सन्देश आदानप्रदानका लागि मात्रै भन्ने पनि स्पष्ट छैन । तर, दुई देशबीचको सम्बनध सुधारका लागि नै भएपनि अपारदर्शी र कूटनीतिक मर्यादा विपरीत जाने छुट कसैलाई छैन र हुनु हुँदैन ।

दुई देशबीचको सम्बन्ध इतिहासकै अत्यन्त ठूलो विश्वासको संकटबाट गुज्रिइरहेको अहिलेको कटु यथार्थ हो । सम्बन्धमा विश्वासको संकट हुँदा सजिलै छलफल र वार्ता हुन्न नै । त्यसैले औपचारिक र राजनीतिक स्तरमा भारतसँग हुनुपर्ने संवाद हुन सकिरहेको छैन, जसले द्विपक्षीय सम्बन्धलाई थप अनिश्चित तुल्याउँदै लानेछ ।

वार्ता मार्फत् सीमा लगायतका अन्य विवाद सुल्झाउन भारत तयार हुने हो भने कुनै समस्या छैन । दुई देशबीच धेरैवटा अन्तरमन्त्रालय परामर्श संयन्त्र छन्, संयुक्त आयोग र कार्यदल नभएका हैनन् । तिनीहरूबीचमै संवाद हुन सकिरहेको छैन । त्यसलाई पूरै बाइपास गरेर गुप्तचरका प्रमुख पठाएर यदि भारतले वार्ता गर्न चाहेकै हो भने पनि यसले नेपालले खोजे जस्तो समाधान निस्किंदैन ।

अमेरिकी पत्रकार एवं समालोचक आइज्याक गोल्डवर्ग भन्थे, सबै भन्दा फोहरी कुरा एकदमै सुन्दर तरिकाले भन्नु र गर्नु नै कूटनीति हो । नेपाल र भारतको कूटनीतिमा पनि शायद हामी उनीहरुका फोहरी कुरालाई पनि सुन्दर तरिकाले ग्रहण गरिरहेका त छैनौ ? 


प्रतिक्रिया