राजतन्त्र र हिन्दूत्वको मागले हल्लिएको गणतन्त्रको जग

मंसिर १८, २०७७ | काठमाडौं

प्रकृतिको नियम नै के हो भने जे कुरालाई पनि आवश्यक्ता भन्दा बढी दबाइए त्यो बिस्फोट हुन्छ । पछिल्लो समय हिन्दू राज्यको माग गर्दै पूर्वराजाको पक्षमा भइरहेका प्रदर्शनहरुमा पनि सरकार कठोर हुने सङ्केत गर्दैछ । यसले अहिलेको व्यवस्थाविरुद्ध सल्बलाएकाहरुलाई थप बल पुग्नेमा कुनै शंका छैन । 

केही स्थानमा केही हजारको जुलुश निस्किदैमा गणतन्त्र समाप्त भएर मुलुक पुन: राजतन्त्रमा नै फर्किन्छ त ? व्यवस्था त्यति सजिलै र सहजै परिवर्तन हुने हैन । तर, शासकहरुको मनोबल यति कमजोर भइसक्यो कि आफूविरुद्ध कोही संगठित भइहाले उनीहरुको बेचैनी सुरु हुन्छ । 

गणतन्त्रमा नव राजाहरुको उदयले आजित भएका नागरिक उकुसमुकुस चिर्दै सडकमा आउनु र राजतन्त्र ब्यूँताउनु फरक कुरा हुन् । नागरिकका निराशा डढेलो सरह फैलिनुपूर्व नै राज्यले सम्बोधन गर्ने आँट र साहस गर्ने हो भने बिस्तारै यस्ता जुलुश र सभामा भाग लिनेहरुको संख्या घट्नेमा कुनै शंका छैन ।

राजतन्त्रको अवसान जुन कारणले भएको थियो त्यसैको सिको गणतन्त्रका सम्बाहकले पनि गर्नु चाहीँ दुखद हो । राजतन्त्र जुन कारणले आलोचित थियो वा जे बुझाइएर नागरिकलाई राजतन्त्र विरुद्ध उभ्याइयो अहिले गणतन्त्र पनि सोही कारणले मात्रै बद्नाम छ । नत्र, झण्डै साढे २ सय वर्षको इतिहास भएको राजतन्त्र फ्यालेको १२ वर्षमै यसबारे जुलुश निकालेरै माग गर्नुपर्ने थिएन । 

समस्या गणतन्त्रमा हैन गणतन्त्रलाई जनतन्त्र हो भनेर नबुझ्ने शासकको दृष्टिदोषमा छ । भनिन्छ नि अति गर्नु अत्याचार नगर्नु । आफ्ना वरपर र घेराकालाई मात्रै लाभ पुर्‍याउन उद्दत भएकाले राजतन्त्रको समाप्ति भयो । अहिले गणतन्त्रमा शासकहरु पनि त्यसकै सिको गर्दैछन् । 

नागरिकलाई केन्द्रमा राखेर शासन चलाउनु पर्नेहरु आफैंलाई केन्द्रमा राखेर निर्णय गर्न पछि नपरेपछि बहिस्करणमा परेका ठान्ने नागरिकहरुले विकल्प खोज्नु स्वभाविक नै हो ।

दलहरुको विकल्प जनताले खोज्छन् भन्ने प्रमाण जुटाउन धेरै टाढा जानै पर्दैन । राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिंदा राजनीतिक दलले लामो समयसम्म नागरिकको साथ पाएनन् । तर, जसै राजा ज्ञानेन्द्रका कदमहरु जनपक्षीय, लोकतान्त्रिक र २१ औं शताब्दीको खुला समाजले खोजेजस्तो हुन छाड्यो बल्ल जनता सडकमा ओर्लिएका थिए । 

त्यसैले अहिले राजा फर्काउन माग गर्दै प्रदर्शन सुरु भएपछि लौ अब गणतन्त्र समाप्त हुने भयो भनेर रोइकराइ गर्नुभन्दा आफू सच्चिनेतर्फ लाग्नु नै उत्तम हो । राजनीतिमा सबैभन्दा महत्वपूर्ण दूरदृष्टि मानिन्छ । तर, हाम्रा राजनेताहरु गणतन्त्रमा मुलुक जानुलाई बयलगाढा चढेर अमेरिका पुगेजस्तो भन्थे । 

अब मोटरसाइकल र्‍याली निकालेर राजतन्त्र फर्किन्न भन्न त सकिएला तर जनआंकाक्षा सम्बोधनमा सत्ताशीन दल चुक्यो र त्यसमा प्रतिपक्षी दल पनि लाचार छायाँ मात्रै बनिरह्यो भने बयलगाढा चढेर अमेरिका पुगिए जस्तै मुलुक प्रतिगमन उन्मुख नहोला भन्न सकिन्न । 

सत्ताको बागडोर सम्हाल्ने व्यक्ति विशेषको अलोकप्रियता भनेको सिंगो शासन व्यवस्थाको कदापि हैन । त्यसैले कार्यशैली र आचरणमा आमूल परिवर्तन ल्याउनु नै अहिलेको आवश्यक्ता हो । राज्यशक्तिको चरम दुरुपयोग र दोहन राजा र वरपरका सीमित व्यक्तिले मात्रै गरे र नागरिकलाई रैती बनाए भनेर राजतन्त्रको जग हल्लाएकाहरुले नै उही र उस्तै बेथितिको जग बसाउनु दुखद त हो नै । 

यसको अर्थ अब पुरानै शक्तिको ओत लिनुपर्छ भन्ने त किमार्थ हैन । तर, जनताले पहिलोपटक आफ्नै हातले लेखेको संविधान र त्यसले दिलाएको उपलब्धी खतरामा नपरोस् भन्नका लागि सत्तारुढदेखि प्रतिपक्षी दलसम्मले आत्मालोचना गरेर अघि बढ्नुको कुनै विकल्प छैन । किनभने राजा फाल्न प्रयोग भएको नागरिक शक्ति दलहरु विरुद्ध पनि प्रयोग नहोलान् भन्न सकिन्न । तर, दोष अरुलाई दिनुभन्दा आफ्नो थैली बलियो गरी कस्ने बेला भईसकेको छ । 


प्रतिक्रिया