हामी किन यति बिघ्न नकारात्मक ?

पुस १५, २०७७ | काठमाडौं

नेकपा विभाजन नितान्त राजनीतिक विषय हो । तर, यसबाट अहिले सिङ्गो समाज तरङ्गित छ । दुबै पक्ष एकअर्काविरुद्ध कटाक्षमा उत्रिएका छन् । अवस्था कतिसम्म अधम भयो भने सामाजिक मान मर्यादा उल्लंघन गर्दै सडकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर नारा उरालियो । 

कुनै नेताले बोल्दै नबोलेको कुरालाई फलानाले यस्तो बोले भनेर उनको उछित्तो काढियो । यसअघि सामाजिक सञ्जालका भित्तामा देख्न पाइने विरुप चित्र अचेल सडकमा गुन्जिन थालेको छ । एकअर्कालाई निचो देखाउने क्रममा उनीहरु आफैं चुत्थो हुँदै गएका छन् । कार्यकर्ता त कार्यकर्ता भए नेताहरुको बोलीमा पनि लगाम लगाउन पर्ने हुन थालेको छ ।

फ्रेञ्च दार्शनिक जोसेफ डी माइस्त्रो भन्थे–‘सबै देशले आफ्नो गच्छे अनुसारको नेता र सरकार प्राप्त गर्छन् ।’ नेपालको हकमा हामी पनि सामाजिक मूल्यमान्यता, आर्दश र आचरणबाट च्युत भएका नेतृत्वका लागि अभिसप्त छौं । त्यसैको प्रतिबिम्ब सामाजिक सञ्जालमा हाम्रा लेखाई, सडकमा हाम्रा बोलाई, एक अर्कालाई सम्बोधन गर्दा शिष्टाचारको सामान्य मर्यादाको पनि ख्याल नगर्ने बानी हो । 

हामीलाई कसैको प्रशंसा भन्दा गाली नै प्रिय लाग्न थालिसकेका छन् । गाली गरेर ताली कमाउन हामी खप्पिस छौं । खोट लगाउन पाउँदा हामी रमाउन थालिसकेका छौं । जोसुकैको पनि उछित्तो काढ्न हामी रिपु भइसक्यौं । कसैले कसैको प्रशंसा गर्‍यो भनेपनि–‘त्यो त बिक्यो’ भनेर हनुमानको पगरी गुथाइहाल्छौं । निरपेक्ष भएर हामी कसैको पनि प्रशंसा वा गाली गर्नै नसक्ने भइसकेका छौं । ताली पाउने काममा पनि गाली र गाली पाउने काममा त आवश्यकता भन्दा बढी दिने भइहाल्यौं । 

झट्ट सुन्दा लाग्छ कसैको नराम्रा पक्षका बारेमा बोल्नु वा खोतल्नु त राम्रो हो नि । समाज परिवर्तनका लागि आलोचनात्मक चेतको आवश्यक पनि पर्छ । तर, अरुको नराम्रो मात्रै देख्ने र आफू सदैव राम्रो ठान्ने सोच नै सबै भन्दा घातक हो । एक अर्काप्रति शंका र अविश्वास यति गहिरिएको छ कि आफ्नो बुझाईको सीमितता भन्दा धेरै पर सोच्न, बुझ्न र जान्न नै हामी चाहन्नौं । दाईं गर्न मियोँको आवश्यक्ता कति हुन्छ भनीरहन पर्दैन । 

समाज नैतिक मूल्य मान्यताको मियोँ बिनाको दाईं भएको छ । अहिले हामीभित्र व्याप्त आक्रोशका पछाडि एउटा मात्रै कारण छैन । लोकतन्त्रको मूल मर्म नै विचारको सशक्तता हो । तर, विचार सशक्त हुनका लागि आलोचनामात्रै हुनुपर्छ भन्ने सोच्नु चाहिँ सर्वथा गलत हो । आम सरोकारवालाले कसरी आफूलाई सुधार्नुपर्छ भन्ने विश्लेषण प्रधान संस्कृति बन्नुपर्छ । 

एक अर्कालाई सराप्दै मनमौजीपनालाई आफ्नो सफलता र सामर्थ्य जस्तो देखाउने विश्लेषणले असहयोगी मनोविज्ञानका साथै नकारात्मकता प्रवाह हुन जान्छ । जस्तो समाज छ, व्यक्ति पनि त्यस्तै हुन्छ । समाज भन्दा भिन्न र अलगथलग रहने व्यक्ति हुँदैन । हामी परिवर्तनको कुरा त गर्छौं तर आफैंले परिवर्तन स्वीकार्दैनौं । हामीमा परिवर्तनप्रति पूर्ण प्रतिबद्धता छैन । बढी नै रेटोरिक्स भएकाले हाम्रो व्यवहारमा अझै सामन्तवादको अवशेष बाँकी नै छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कुनै बेला भन्नु भएको थियो– ‘नेता पनि जनता अनुसारकै हुन्छन् । जस्ता जनता त्यस्तै नेता ।’ शायद हराउँदै गएको सामाजिक र नैतिक मूल्य मान्यताका पछाडि हामी नागरिक पनि जिम्मेवार हुनैपर्छ ।

राम्रो कुराको बखान र बिस्तार हुनै छाडेको छ अचेल । तर, नराम्रो र नकारात्मक प्रसङ्ग वनमा लागेको डढेलोझैं सल्किन्छ । पूर्वाग्रह तथा आलोचना आपूर्ति गर्नेहरुकै क्षमता तथा सार्थकतामाथि नागरिकबाट प्रतिप्रश्न समेत हुन छाडेको छ । गाली गरेर ताली पाउने विरोधको शैली र विज्ञान नबदलिएसम्म हाम्रा आग्रह रचनात्मक हुँदैनन् । अमेरिकी जिम्न्यास्ट मेरी लोउ रेटन भन्थिन्–‘आशावाद खुशीको चुम्बक हो । तपाईं आफैं सकारात्मक रहनु भयो भने तपाईंतिर राम्रा चिज र असल व्यक्तिहरु आकर्षित हुन्छन् ।’ सबैतिर नराम्रो मात्रै देख्ने नजर हामीले पनि बदल्ने बेला आएको छ । 


प्रतिक्रिया