'हिमाल चढ्दै सेना'

फाल्गुन १०, २०७७ | काठमाडौं

नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा ६ वटा हिमालबाट फोहोर संकलन गर्ने गरी सफा हिमाल अभियान सुरु गरेको छ । सन् २०१९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । 

यसपटक सेनाले सगरमाथासहित ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम हिमालमा सरसफाई गर्नेछ । ती हिमालहरुको बेस क्याम्प भन्दा माथिबाट मात्रै १८ टन फोहोर संकलन गर्ने लक्ष्य सेनाको छ । मुलत: नेपालका हिमालहरु सुरक्षित मात्रै हैनन् सफा पनि छन् भन्ने सन्देश विश्वभर दिन सेनाको समन्वयमा सफा हिमाल अभियानको दोस्रो संकरण सुरु भएको हो ।

अभियानको एकीकृत रुपमा अगुवाई सेनाले गरेपनि यसमा नेपाल पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायको सहकार्य मै सफा हिमाल अभियान हुनेछ । कोभिड–१९ महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र र अर्थतन्त्रमा प्राण भर्न नेपालका हिमालको सुरक्षा र सफापनलाई प्रचार गर्न लागिएको हो । 

आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्वपूर्ण सम्पत्ति हुन् । यिनै हिमालबाट नेपालले वार्षिक ४५ करोड बढी राजस्व संकलन गर्छ । तर, यो निकै न्यून भएको र यसलाई बढाउन हिमाल सफा गर्नुपर्ने तर्क अभियानमा संलग्नहरुको छ । पर्यटकको प्रमुख आकर्षण सगरमाथा, ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमाल तीन चरणमा एकैपटक सफा गरिने सेनाले जनाएको छ ।

हिमाल आरोहण गर्ने आरोही तथा उनीहरुका सहयोगीले प्रयोग गर्ने सड्ने तथा नसड्ने फोहोरले हिमाली सौन्दर्य र वातावरण नै संकटापन्न हुँदै गएकाले अभियानले हिमाललाई पुनर्जीवन दिने आशा छ । हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारलाई समेत अभियानमा सहभागी गराउने र सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्छ सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले बताउनुभयो ।

हिमाल सफाई अभियानकै लागि भनेर वन तथा वातावरण मन्त्रालयले नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयलाई १० करोड बजेट उपलब्ध गराईसकेको छ । यस्तै, निर्देशनालयले पनि २ करोड ५० लाख रुपैयाँ बजेट छुट्टयाएको छ । सहायक खड्काका अनुसार हिमाल सफाई अभियानको पहिलो चरणमा हाल पूर्वतयारी र समन्वय भइरहेको छ । दोस्रो चरणमा चैत १ देखि २६ गतेसम्म एक्लिमटाइजेसन तालिम सञ्चालन गरिने र चैत ३१ गतेदेखि जेठ २२ गतेसम्म सरसफाई अभियान चलाइने उहाँको भनाई छ ।

मानव स्रोत र बेस क्याम्पको व्यवस्थापन र अनुगमनसँगै हवाई साधनबाट बन्दोबस्तीका सामान तथा जम्मा भएका फोहोर ओसार्ने काम पनि सेनाले नै गर्नेछ । निर्देशनालयका सेनानी आदित्य कार्कीका अनुसार अभियानले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न मद्दत पुग्नेछ भने पर्वतारोहीलाई थप आकर्षित गर्दै भावी पुस्तालाई पनि हिमाल संरक्षणका लागि सन्देश मिल्नेछ । 

हिमाल सफा राख्नु भनेको त्यस क्षेत्र र हिमालको तल्लो तटीय क्षेत्रको पर्यावरण सुरक्षित राख्नु हो । आफूले प्रयोग गरेका सामग्री निश्चित स्थानसम्म ल्याएर बिसर्जन गर्नुपर्ने नियम पवर्तारोहीले कडाईको साथ पालना गर्नुपर्छ । सजिलै कुहिने वस्तु हिमालमा चिसोका कारण नकुहिँन सक्छन् । त्यसमाथि नकुहिने फोहोर त खातका खात लागेका आरोहीको अनुभव छ । 

हिमाल आरोहणमा जानेले अक्सिजनका सिलिण्डर, टेन्ट, टिनका बट्टा, मट्टीतेलको भाडा, स्टोभ लगायत सामग्री हिमाली क्षेत्रमा नै छाडिदिने भएकाले सफाईमा चुनौती देखिएको हो । सेनानी कार्कीका अनुसार सगरमाथामा मात्र करीब १ लाख ४० हजार टन फोहोर छ । यस्तै, ३ सय बढी आरोहीका मृत शरीर रहेको अनुमान छ । 

हिमाल आरोहण दस्तुर तिर्नुको अर्थ हिमाली क्षेत्रमा फोहोर छाड्न पाइन्छ भन्ने मानसिकताबाट पर्यटकलाई मुक्त गराउनु पनि सफाइ अभियानको अर्को पाटो हो । यसअघि पनि सगरमाथा सरसफाई अभियानमा सहभागी नेपाली सेनाको नेतृत्वमा हुने सफा हिमाल अभियान पहिलेको अनुभवकै आधारमा पनि सफल हुने अपेक्षा गर्न सकिन्छ ।


प्रतिक्रिया