सातै प्रदेशमा एमालेसहितको गठबन्धन सरकारको यस्तो छ समीकरण

पुस १०, २०७९ | काठमाडौं

नेकपा एमाले र माओवादीसहित ७ दलले संयुक्त रुपमा नयाँ सरकार गठन गरेसंगै नयाँ समीकरण अनुसार प्रदेशहरुमा समेत सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । संघमा सरकार गठनका लागि अन्तिम समयमा गठबन्धन भत्किएपछि एमाले, माओवादीसहितका दलहरु सरकारमा सहभागी हुँदा अब यसैका आधारमा प्रदेशहरुमा सरकार गठन हुने भएको छ ।

९३ सदस्यीय प्रदेश एक मा सरकार गठनका लागि ४७ सांसदको आवश्यक हुन्छ । सरकार गठनका लागि एमालेसंग ४०, माओवादी १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ६ र जनता समाजवादी पार्टीको १ सांसद गरि ६० सांसदले सरकार गठनमा सहजता थपिदिएको छ ।

१ सय ७ सदस्य रहेको मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको आवश्यक पर्नेछ । यस प्रदेशमा समेत एमाले २२ सिटका साथ ठूलो दल हो । सरकार गठनका लागि एमाले २२, माओवादी ८, जसपा १६, जनमत १३ गर्दा पनि ५९ सहित सरकार गठन हुने हुने छ । यस प्रदेशमा कांग्रेसको २२, लोसपाको ९, एकीकृत समाजवादीको ७ सिट रहेको छ भने प्रत्यक्षमा एक सिट पनि जित्न नसकेको नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समानुपातिकतर्फ १/१ सांसद रहेको छ । प्रदेशमा ६ स्वतन्त्र सांसद निर्वाचित छन् ।

१ सय १० सदस्य रहेको बाग्मती प्रदेशमा सरकार गठनका लागि ५६ जना सांसदको आवश्यकता पर्छ । एमालेले २७, माओवादी २१, राप्रपा १३ गर्दा पनि सरकार गठनका लागि ६१ सांसद जुन सरकार गठनकालागि पर्याप्त हुन्छ । यस प्रदेशमा कांग्रेस ३७ सिटसहित ठूलो दल बनेपनि उसको नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिदैन । एकीकृत समाजवादीको ७ , नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को ३ सिट र हाम्रो नेपाल पार्टीको २ सिट रहेको छ ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सरकार गठनका लागि आवश्यक बहुमत संख्या ३१ भएकाले पनि एमाले, माओवादी र राप्रपा मिल्दा पनि सरकार गठन हुने भएको छ । यस प्रदेशमा दोस्रो दल रहेको एमालेको २२, माओवादीसंग ८ र राप्रपाको २ गरी बहुमतको संख्या पुग्ने देखिएको छ । कांग्रेसले यस प्रदेशमा २७ सिट जितेपनि उसको नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिदैन । एकीकृत समाजवादीको भने एक सिट छ ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद भए पुग्छ । त्यसका लागि यस प्रदेशमा सबैभन्दा ठूलो बनेको एमालेको २९ सिट छ । माओवादीको ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समान चार/चार, जसपाको एक सिटले स्पष्ट बहुमत पुग्ने भएकालेपनि सरकार गठनमा असहज देखिदैन । त्यस्तै जनमतको ३, लोसपाको एक सिट, प्रत्यक्षतर्फ नतिजाविहीन रहेका नेकपा एस र राष्ट्रिय जनमोर्चाले पनि समानुपातिकतर्फ १/१ सिट जितेका छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको स्पष्ट बहुमत आवश्यक पर्छ । सरकारको गठनको नया समीकरणअनुसार सरकार गठनका लागि एमालेको १० र माओवादीको १३ गर्दा पनि सरकार गठनमा कुनै अवरोध देखिदैन ।

यस प्रदेशमा १४ सिट जितेर सबैभन्दा ठूलो दल बनेको कांग्रेस एकीकृत समाजवादीसहितका अन्य दलसंगको सहकार्यमा सरकार गठन गर्न असम्भव देखिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा २७ सांसदको समर्थनमा सरकार गठन हुनेछ । एमालेको १०, माओवादीको ११, नागरिक उन्मुक्ति पार्टीको ८ गर्दा पनि सरकार गठन हुने देखिन्छ । १८ सिट प्राप्त गरी कांग्रेस पहिलो दल बनेपनि उसलाई सरकार बनाउने अंकगणित पुग्दैन । 


प्रतिक्रिया