पर्यटक भिसाको दुरुपयोगः नेपालमा अपराध गर्ने विदेशीको संख्या बढ्दो

पुस २८, २०७९ | काठमाडौं

पर्यटक भिसामा नेपाल आएर विभिन्न अपराधिक क्रियाकलापमा संलग्न हुने विदेशी नागरिकको संख्या बढ्दो क्रममा रहेको पाइएको छ ।

सरकारी तथ्याङक अनुसार, सन् २०१४ यता नेपाल आएर अपराधिक क्रियाकलापमा संलग्न भएका र दोषी ठहरिएका ३ हजार ८ सय २१ जना विदेशी नागरिकलाई निष्काशन गरिएको छ ।

नेपालमा विदेशीे नागरिक मुख्य गरी लागुपदार्थ ओसारपोसार, विदेशी मुद्राको अपचलन तथा तस्करी, बाल यौन दुराचार, बैंकिङ कसुर, मानव तस्करी लगायत घटनामा संलग्न हुने गरेका छन् ।

त्यसैले विदेशी नागरिकमाथि प्रभावकारी निगरानी गर्न र सुरक्षा व्यवस्थामा थप कडाइ गर्न आवश्यक भएको विज्ञहरुले बताएका छन् ।

सन् २०१४ यता नेपाल आएर अपराधिक क्रियाकलापमा संलग्न भएका र विभिन्न कारणले दोषी ठहरिएका ३ हजार ८ सय २१ जना विदेशी नागरिकलाई सरकारले निष्काशन गरेको छ ।

पछिल्लो उदाहरणका रुपमा फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई लिन सकिन्छ । व्यक्ति हत्या आरोपमा दोषी ठहर भएर नेपालको जेलमा झण्डै २० वर्ष विताएका उनलाई सरकारले १० वर्ष नेपाल आउन नपाउने गरी निष्काशन गरेको हो ।


अध्यागमन विभागका अनुसार सन् २ं०१४ यता सन् २०२२ सम्ममा ३ हजार ८ सय २१ जना विदेशी नागरिक निष्कासनमा परेका छन् । सो विवरण अनुसार सन् २०१४ मा १ सय ९०, सन् २०१५ मा २ सय ७३, सन् २०१६ मा २ सय ६९, सन् २०१७ मा ६ सय ५७ जनालाई सरकारले निष्काशन गरेको छ । यस्तै, सन् २०१८ मा ७ सय ९३, सन् २०१९ मा ७ सय ६४, सन् २०२० मा ३ सय ३२, सन् २०२१ मा २ सय १८ र सन् २०२२ को सेप्टेम्बरसम्म ३ सय २५ विदेशी नागरिक विभिन्न अपराधमा संलग्न रहेको पाइएपछि निष्काशनमा परेका छन् ।

नेपालमा कति विदेशी अपराधीहरु लुकेर बसेका छन् भन्ने यकिन तथ्याङ्क छैन , छ त केबल प्रहरीमा उजुरी दर्ता भएका, कारबाहीका लागि सिफारिस भएका र पक्राउ परेका तथा उनीहरुको आफ्नै देश डिपोट भएकाहरु मात्र ।

अध्यागमन विभागको तथ्याङ्कले देखाएजस्तो उनीहरु सबैलाई अपराधी मान्न नमिल्ने प्रहरी अधिकारीहरु बताउँछन् । नेपालमा आउने विदेशी नागरिकलाई नेपाल र यहाँको प्रशासनले पहिलो नजरमा पर्यटकको रुपमा चिन्ने गरेको छ । तर उनीहरुले नेपालमा आएर गर्ने गतिविधिमा भने प्रहरीको नजर पुग्ने गरेको छ । विदेशी नागरिकका गतिविधिलाई नियाल्ने गरिएको र सुरक्षाका दृष्टिकोणले नेपाल कमजोर नरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई बताउँछन् ।

कुख्यात् अपराधि चार्ल्स शोभराजको उदाहण दिँदै प्रवक्ता राईले भने–‘अपराध गर्ने मान्छेले संसारभर जहाँ पनि अपारध गर्छ, विदेशी नेपालमा अपराध नै गर्न आउँछन् भन्ने होइन । चार्ल्स शोभराज पहिले अपराध गरेर भाग्यो तर हामीले समात्यौं ।’

भिसा कानुन उदार भएका कारण धेरैजसो देशका नागरिक सहजै नेपाल आएर अपराधिक गतिविधिमा संलग्न हुने गरेको अध्यागमन विभागको विभिन्न अनुसन्धानको निष्कर्ष छ । विदेशीहरु नेपाल घुम्न आउने र अवैध रुपमा बसोबास गर्नेहरुको संख्या पनि बढ्दो रहेको सम्बद्ध अधिकारीहरु बताउँछन् ।

सुरक्षा निकायका लागि उनीहरुको गतिविधि चुनौतीपूर्ण हुने मात्र नभई यहाँको सुरक्षा अवस्थामा अन्तराष्ट्रिय चासो समेत बेलाबखतमा प्रकट हुने गरेका छन् ।

यही पृष्ठभूमिमा सुरक्षा व्यवस्था प्रहरीले दावी गरेजस्तो मजबुत भने नभएको पूर्व प्रहरी अधिकृतहरुको भनाइ छ । अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले भने–‘नेपालको जनशक्ति र क्षमताका आधारमा नेपालको विमानस्थलको सुरक्षा व्यवस्था राम्रो छ जस्तो मलाई लाग्दैन, सीमा क्षेत्रमा पनि निगरानी छैन ।

नेपाल आउन चाहाने विभिन्न देश मध्ये थाइल्याण्ड, रासिया, ब्राजिल, भेयतनाम, मंगोलीया र जोर्डनका नागरिकले अधिकतम ९० दिनको भिसा पाउने अध्यागमन विभागले जनाएको छ । त्यस्तै, चीन र कम्बोडियाका नागरिकले ३० दिन सम्म नेपालमा अन–अराइभल भिसा प्राप्त गर्छन् तर, नेपालबाट भारत जान र भारतबाट नेपाल आउन त्यस खालको कुनै बाध्यतात्मक व्यवस्था छैन ।

भारत बाहेक अन्य जुनसुकै देशबाट नेपाल आउन कुनै न कुनै प्रकारले अनिवार्य रुपमा भिसा पक्रिया पुरा गर्नुपर्ने कानूनी प्रावधान छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा भारतबाट आएर अपराधिक कार्यमा संलग्न हुनेको संख्या अन्य देशको तुलनामा बढी छ । नेपालका कारागार र जेलमा भारतीयसहित विदेशी कैदीबन्दीको संख्या १ हजार ४ सय बढी छ ।

यो संख्याले अपराधिक क्रियाकलापमा विदेशी नागरिक संलग्न हुने क्रम बढेको देखाउँछ । तर विमानस्थल र सीमा क्षेत्रमा विभिन्न कारणले सुरक्षा प्रवन्ध प्रभावकारी हुन सकेको देखिदैन ।

विमानस्थल र सीमाक्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था हुन नसक्नुको कारणबारे पूर्व प्रहरी नायब महानिरीक्षक मल्लले भने–‘गलत स्वार्थका कारण राजनीतिक दलहरु चाहेर पनि उनीहरुले त्यसप्रति ध्यान दिएका छैनन, सीमाका कतिपय स्थानमा व्यक्तिको सोच नै विभिन्न धन्दामा लाग्ने भएको छ । त्ससका आधारमा उनीहरुले आफ्नो गुजारा चलाइरहेका छन् ।’

अष्ट्रेलियामा रहेको इन्टिच्युट फर इकोनोमिक्स एण्ड पिसले सन् २०२२ मा सार्वजनिक गरेको विश्व शान्ति सुचकांकमा नेपाल ७३ औं स्थानमा छ ।

विश्वका १ सय ६३ राष्ट्रमा गरिएको अध्ययन अनुसार सबैभन्दा अशान्त र असुरक्षित देशको रुपमा अफगानिस्तानलाई पहिलो स्थानमा राखिएको छ । छिमेकी राष्ट्र भारत पनि १ सय ३५ औं स्थानमा परेको छ जुन नेपालको तुलनामा धेरै असुरक्षित मान्न सकिन्छ । दक्षिण एसियाका ७ राष्ट्र मध्ये नेपाल शान्त राष्ट्रको दोस्रो स्थानमा छ ।

नेपालको खुला सीमा रहेको छिमेकी राष्ट्र भारतबाट नेपाल आउनका लागि भारतीय नागरिकलाई भिसा प्रक्रियाको कुनै पनि प्रवाधान पुरा गर्नुपर्ने बाध्यकारी संयन्त्र नभएकाले उनीहरु सहजै नेपाल प्रवेश गरेर अपराधिक क्रियाकलापमा लाग्ने गरेका छन् ।

अध्यागमन विभागले जारी गरेको अध्यागमन कार्यविधि २०६५ अनुसार नेपालमा आएर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहरिएकालाई १० वर्षसम्म कैद सजायका लागि सरकारलाई सिफारिस गर्ने व्यवस्था छ । यस्तै, ज्यान मार्ने, वालबालिका माथि यौनजन्य अपराधमा संलग्न भएको पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय तोक्न सक्ने व्यवस्था पनि सो कार्यविधिले गरेको छ । अपराधका आधारमा उनीहरुलाई हुने कैद सजायका विषयमा विभागको कार्यविधिले छुट्टाछुट्टै समय सहितको व्यवस्था गरेको छ ।

नेपालमा आएका विदेशी कुन प्रयोजनमा देशका कुन ठाउँ पुगेका छन्, कहाँ बसेका छन् भन्ने नियमन गर्न गृह मन्त्रालय, अध्यागमन विभाग र जिल्ला प्रशासनका अधिकारी सम्मिलित संयन्त्र छन् ।

यी संयन्त्रअन्तर्गत सुरक्षा निकाय, पर्यटन विभाग, पर्यटन बोर्डदेखि होटल/रेस्टुरा, ट्राभल एजेन्सीका प्रतिनिधिमार्फत अनुगमन र निगरानी गर्नुपर्ने व्यवस्था छ । तर, भएका संयन्त्र त्रियाशील नहुँदा विदेशी नागरिक एउटा प्रयोजनमा आएर अर्कै प्रयोजनमा बस्नेदेखि त्यसकै आडमा अपराधिक गतिविधिमा सक्रिय हुने गरेको देखिन्छ ।

यावत् समस्या र चुनौतीका माझ सरकारले अध्यागमन क्षेत्रमा सुधारका लागि नयाँ कानून ल्याउने तयारी गरेको बताइएको छ । 


प्रतिक्रिया