एमाले मिसन ग्रासरुट : जनप्रतिनिधिका कामकारबाहीप्रति अनगुमनकर्ताको असन्तुष्टि

चैत्र १, २०७९

३ महिनाअघि भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट अपेक्षाअनुरुप जनादेश प्राप्त गर्न नसकेको नेकपा एमालेले संगठनलाई बलियो बनाउने रणनीतिसहित दुई महिने अभियानमा केन्द्रित भएको छ । पार्टीका केन्द्रीय सदस्यहरुलाई वडा हुँदै टोलसम्मको कमिटि गठन–पुर्नगठन, संगठन विस्तार, सदस्यता नवीकरणलगायतका जिम्मेवारी तोकिदा पार्टी पदाधिकारीले समेत प्रदेश अभिमुखिकरण र अनुगमनको जिम्मेवारी पाएका छन् । अन्य दलको तुलनामा चुस्त संगठन भएको भनिएको एमालेले १४ लाख संगठित सदस्य बनाउने लक्ष्य लिएपनि पार्टीभित्रको असन्तुष्टी कम गर्ने र पार्टी पंक्तिलाई उद्यम–व्यवसायसँग जोड्नुपर्ने चुनौती भने झेलिरहेको छ ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट दोस्रो ठूलो दल बनेको एमाले चुनाव सकिएको ३ महिनाकै अवधिमा पार्टी संगठनको सुदृढीकरण तथा विस्तार अभियानमा केन्द्रित भएको छ । राजनीतिक उतारचढावकाबीच गत पुस १० गते सत्तामा फर्किएको एमाले राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा प्रतिपक्षी भूमिका धकेलिएको अवस्थामा उसले फागुन र चैत्र महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो । फागुन ५ बाट औपचारिक रुपमै सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रमको शुरुवात गर्दै एमालेले सो अभियानलाई सफल बनाउन पार्टीका केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएको छ । दुई महिनासम्म वडा हुँदै टोलसम्मको कमिटि गठन–पुर्नगठन, संगठन विस्तार, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण गर्ने, प्रशिक्षण, पार्टीबारे सुझाव संकलन, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार लगायत जिम्मेवारी पाएका ३ सय ३२ केन्द्रीय सदस्यहरु स्थानीय तहमा खटिएका छन् । केन्द्रीय नेताहरु काठमाडौंमा केन्द्रीत हुने प्रवृत्ति हावी हुँदा संगठन प्रभावकारी हुन नसकेको गुनासो बढ्न थालेपछि एमालेले केन्द्रीय सदस्यहरुको सांगठानिक क्षमता परीक्षण समेत गर्ने रणनीति बनाएको हो । अभियानमा सहभागी भएका नेताहरुका अनुसार स्थानीय तहले गरेका कामहरुको अनुगमन, जनतासंगको घरदैलो कार्यक्रमबाट सुझाव संकलन गर्नेक्रममा थुप्रै समस्याहरु उजागर भएका छन् । कर्णाली प्रदेशका १० मध्ये ७ वटा जिल्लामा पुगेका केन्द्रिय सचिव योगेश भट्टराई कतिपय जनप्रतिनिधिबाट भएका कामहरुप्रति सन्तुष्ट हुन सकेका छैनन् ।

२०७५ सालमा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणपश्चात् ८ लाख सदस्य पुगेको एमालेको दाबी छ । एमाले संगठन विभागका अनुसार हाल १० लाख ९२ हजार सदस्य रहेको अभिलेख रहेकोमा अहिलेको अभियानबाट नवीकरण तथा नयाँ सदस्य वितरणपछि अझै संख्या थपिने सम्भावना छ । संगठनको हिसावमा अन्य दलको तुलनामा चुस्त मानिने एमालेले बार्षिक रुपमा सदस्यता शुल्क तथा लेबी समेत उठाउँदै आएको छ । यही पृष्ठभूमिमा एमालेले संगठन सुदृढीकरण अभियानमार्फत् करिब १४ लाख सदस्य बनाउने लक्ष्य लिएको छ । पार्टी सदस्यलाई राजनीतिक रुपमा क्रियाशील मात्र बनाउने तर उद्यम–व्यवसायमा लगाउन नसकेको भन्दै नेपालका सबै जसो दलको आलोचना हुँदै आएका छन् । त्यसो हो भने सदस्य संख्या बढाउने लक्ष्यमा रहेको एमालेले आफ्ना संगठित सदस्यहरुलाई उद्यमी बनाउनेतर्फ योजना बनाएको छ त ? भन्ने प्रश्नमा सचिव भट्टराईले सम्पुर्ण पार्टी सदस्यहरुलाई श्रम, उत्पादनसंग जोड्ने लक्ष्य भएकाले सदस्यहरुलाई प्रेरणा दिने काम गरेको बताए ।

५ दलीय गठबन्धनको सामना गर्दै प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ झण्डै २८ लाख भोट ल्याएर ३४ सिट जितेको एमाले ७८ सिटसहित संघीय संसदको दोस्रो ठूलो दल बनेको थियो । पार्टी विभाजनको मार खेपेपनि आफ्नो जनाधार कायम राख्न सक्नुलाई एमालेको चुनावी सफलता मानिएको छ । चुनाव सकिएको तीन महिनाकै अवधिमा संगठनलाई अझ विस्तार गर्ने तयारीमा जुटेको एमाले यतिखेर प्रतिपक्षीको भूमिका छ । त्यसैले सरकारमा रहँदा होस् वा नरहँदा पार्टीमा जोडिएका युवा पंक्तिलाई सक्रिय बनाउन आफूहरु केन्द्रित भएको नेताहरुले बताएका छन् । अभियानका लागि कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ जिल्लाको जिम्मेवारी पाएका खगेन्द्र राईले यूवा, महिलालाई उद्यमी बनाउनका लागि पार्टीले पहल गरिरहेको बताए ।

नेकपा विभाजित भएपनि एमालेमै रहेका पूर्व माओवादी धारका नेताहरु केन्द्रिय तहमा प्रभावकारी हुन नसकेको टिप्पणी भइरहेका छन् । तर एमालेले अहिलेको अभियानमा पूर्व माओवादी धारका नेता र कार्यकर्तालाई समेत समेट्ने प्रयास गरिरहेको छ । गण्डकी प्रदेशअन्र्तगत म्याग्दी जिल्लाको जिम्मेवारी पाएका नेता पदम गिरीले माआवोदीबाट एमालेमा आएका नेताहरु आ–आफ्नो भूगोलको जिम्मेवारी सम्हाल्दै पार्टी संगठन सुदृढ गर्नेतर्फ केन्द्रीत रहेको बताए ।

राष्ट्रिय राजनीतिको सन्दर्भमा पछिल्ला बर्षहरुमा ठूलै उथलपुथल व्यतित गरेको एमालेले संगठन विस्तारको अभियानबाट फेरि पनि आफू मुलुकको बलियो शक्ति बन्न सक्ने सन्देश प्रवाह गर्न खोजेको देखिन्छ । त्यसैले पार्टीभित्र असन्तुष्टी सम्वोधन गर्दै अघि बढ्नुपर्ने बाध्यताका माझ एमाले अहिले प्रतिपक्षी भूमिका निर्वाह गर्दै आफूलाई थप चुस्त र दुरुस्त पार्टीको रुपमा उभिने चुनौतीको सामना गरिरहेको छ । 


प्रतिक्रिया