अन्नबालीका लागि ४७ वर्षपछि मलखादको मात्रा सिफारिस

असार २, २०८० | काठमाडौं

खेतीको सिजनमा चाहिने मल नपाउँदा किसानहरुले बर्षौदेखि हैरानी खेप्दै आएका छन् । मुख्य बाली धान, गहुँ र मकै लगायतलाई चाहिने मल विदेशबाट आयात गर्नुपर्ने बाध्यताका बीच सरकारले पर्याप्त मात्रामा उपलव्ध गराउन सकेको छैन । यस्तो अवस्थामा कृषि अनुसन्धान परिषद्ले भौगोलिक अवस्थिति अनुसार खेतीका लागि प्रयोग गरिने मलको मात्रा निर्धारण गरेको छ । कृषि प्रविधिमा आएको परिवर्तनसँगै मल प्रयोग विधि समेत फेरबदल भएपछि नेपालमा ४७ बर्षपछि धान, मकै र गहुँबालीका लागि स्थान विशेषमा रसायनिक मल प्रयोग गर्न सिफारिस भएको हो । त्यसैले उत्पादनलाई वृद्धि गर्ने लक्ष्यसहित सिफारिस गरिएको मलको प्रयोगबारे किसानलाई जानकारी गराउनुपर्ने देखिएको छ ।

बालीविरुवाबाट धेरै उत्पादन लिन थोरै मात्रामा मल प्रयोग गर्दा बढी उब्जनी हुने गरी अत्याधुनिक प्रविधि र विभिन्न रसायनको सम्मिश्रणबाट तयार गरिएका पदार्थलाई रासायनिक मल भनिन्छ । दोस्रो विश्वयुद्धको समाप्तिपछि विश्वमा निम्तिएको भोकमरीलाई न्यून गर्न हरित क्रान्तिको शुरुवात गर्दै रासायनिक मलको उत्पादन र प्रयोग गर्न थालिएको थियो । नेपालमा सन् १९७६ मा पहिलो पटक माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाले बालीको लागि मलको मात्रा सिफारिस गर्‍यो । सोही मात्रा अनुसार कृषकले ४७ वर्षदेखि मल प्रयोग गर्दै आएका छन् । तर पछिल्लो समय बढ्दो कृषि प्रविधि अनुसार मलको मात्रा पनि फरक पर्ने भन्दै कृषि अनुसन्धान परिषद् (नार्क) ले धान, मकै र गहुँबालीका लागि स्थान विशेष मलखाद सिफारिस गरेको छ । यी बालीका लागि स्थानीय माटोको उर्वरा शक्ति र हालको उत्पादनलाई ध्यान दिई स्थान बिशेष मलखाद सिफारिस गरिएको नार्कले जनाएको छ । हावापानी र जात अनुसार फरक–फरक मात्रा सिफारिस गरिएको सम्वद्ध अधिकारीहरुले बताएका छन् । धान र गहुँमा ६ मेट्रिक टन प्राङ्गारिक मल प्रतिहेक्टर प्रयोग गर्न र मकैबालीमा १० मेट्रिक टन प्रतिहेक्टर प्रयोग गर्न सिफारिस गरिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्री प्रसाद बिष्टले बताए ।

बालीको राम्रो उत्पादन हुन १६ वटा पोषक तत्व आवश्यकता पर्दछ । विरुवालाई प्राकृतिक रुपमा ३ वटा पोषक तत्व कार्बन, हाइड्रोजन र अक्सिजन प्राप्त हुन्छ । प्राङ्गारिक, जैविक र रासायनिक मलबाट बाँकी १३ वटा पोषक तत्व बालीले लिन्छ । जसमध्ये बालीका लागि मुख्य पोषक तत्व नाइट्रोजन, फोस्फोरस र पोटास हुन् । क्याल्सियम, म्यानेसियम र सल्फर सहायक पोषक तत्व हुन् भने बालीका लागि आवश्यक पर्ने आइरन, म्याग्निज, कपर, जिंक, बोरोन र क्लोरिन सूक्ष्म पोषकतत्व हुन् । यी तत्वहरु रासायनिक मलबाट बाली र विरुवालाई उपलब्ध हुन्छ । विरुवाका लागि मलखादको सिफारिस गर्दा माटोको गुणस्तर अनुसार ध्यान दिनुपर्ने कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खराल सुझाब दिए ।

मुलुकभर औषतमा धान बालीका लागि नाइट्रोजन १ सय २६ किलो, फोस्फोरस ३७ किलो र पोटास ४० किलो प्रतिहेक्टर सिफारिस छ । बर्णशंकर जात धानका लागि नाइट्रोजन १५० किलो, फोस्फोरस ५० र पोटास ६० किलो प्रतिहेक्टर सिफारिस छ । धानमा जिंक करिब साढे २ केजी र बोरोन १ केजी प्रतिहेक्टर प्रयोग मात्रा उल्लेख छ । यस्तै, गहुँबालीका लागि नाइट्रोजन औषतमा १ सय २५ किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । फोस्फोरस र पोटास ५०/५० किलो प्रतिहेक्टर प्रयोग गर्न सिफारिस छ । गहुँ बालीमा बोरोनको प्रयोग साढे १ किलो प्रतिहेक्टर सिफारिस छ । यस्तै, खुल्ला सेचित मकै जातका लागि नाइट्रोजन १ सय २३ किलो, फस्फोरस ६० किलो र पोटास ४० किलो प्रतिहेक्टर प्रयोग गर्न सकिन्छ । बर्णशंकर मकै बालीमा नाइट्रोजन १ सय ६५ किलो प्रतिहेक्टर, फोस्फोरस र पोटास ६०/६० किलो प्रतिहेक्टर प्रयोग गर्नु पर्ने नार्कले जनाएको छ । प्राङ्गारिक मलको मात्रा पनि बाली अनुसार भिन्नभिन्नै सिफारिस छ ।

राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले भौगोलिक अवस्थिति अनुसार मलखाद प्रयोगको सिफारिस गरेको हो । धान, गहुँ र मकै बालीमा प्राङ्गारिक मल उपलब्धता अनुसार बढी राखेमा राम्रो उत्पादन लिन सकिने विज्ञहरु बताउँछन् । कृषि प्रविधिमा आएको परिवर्तनसँगै गरिएको सिफारिस अनुसार मल प्रयोगबारे किसानहरुलाई सीप सिकाउनु महत्वपूर्ण हुने देखिएको छ ।  


प्रतिक्रिया