नागरिकता पीडित भन्छन् ‘‘नागरिकता नहुँदा अधिकार प्राप्तिबाट बञ्चित भयौं ’’

असार ७, २०८० | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सृजना भएको विवादका बीच सो बिषय सर्वोच्च अदालतमा पुगेको छ । अदालतले विधेयक तत्कालअघि नबढाउन आदेश दिएकाले मुद्धाको निरुपण कहिले हुने हो, टुंगो छैन । तर विभिन्न जिल्लामा नागरिकता पाउन नसकेका २ सय बढी युवा र उनीहरुका परिवार नागरिकता पाउनुपर्ने माग गर्दै १९ दिन यता काठमाडौंको माइतीघरमा धर्नामा बसिरहेका छन् । नागरिकता नहुँदा पढाई, रोजगार, सरकारी कामकाज लगायतमा बाधा पुगेको उनीहरुको गुनासो छ ।

बाराका राहुल कुमार गुप्ता । उमेरले २२ बर्ष पुगे तर हालसम्म उनले नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन् । कक्षा १२ पछि राहुलले मेडिकल शिक्षाको अध्ययनका लागि प्रवेश परीक्षा पास गरेपनि नागरिकता नभएरै पढ्नबाट बञ्चित भए । उनी जस्तै पर्सा, मोरङ, सुनसरी, झापा, सिरहा, धनुषा, सर्लाही, रौतहट लगायत विभिन्न जिल्लाबाट नागरिकता विहिन भएका युवाहरु नागरिकताको माग गर्दै संघीय राजधानी काठमाडौंको माइतीघरमा धर्नामा बसिरहेका छन् । धर्नामा बसिरहेकी झापाकी घरबदली कोचलाई भने आफ्ना सन्तानले नागरिकता नपाएकोमा हैरानी छ । आफूले जन्मको आधारमा नागरिकता प्राप्त गरे पनि दुई छोराले नागरिकता पाउन नसकेका उनले बताइन् । नागरिकता नभएर छोराहरुले रोजगारी नपाउँदा एकल आमा भएर घर खर्च चलाउन धौधौ भएको घरबदलीले सुनाइन् । छोराहरुको नागरिकता नहुँदा पढाई, रोजगारी, कारोबार र सरकारी कामकाजमा बाधा पुगेको उनको गुनासो छ ।

नेपालको संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगर्ने नीति लिएको छ । तर सो व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन् । धर्नामा आएका विरगन्जका ५२ वर्षिय उत्तम कुमारले आफ्नो सन्तानले नागरिकता प्राप्त गर्न नसकेकोमा आक्रोशित हुँदै भने, ‘सर्वोच्च अदालतले नागरिकता सम्बन्धी विधेयकको रिट दर्ता नगर्नु पर्ने हो, रिट दर्ता गर्नु नै गलत हो ।’

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणिकरण गरेपछि नागरिकता पाउने आशामा रहेकाहरुलाई सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशले दुःखित तुल्याएको छ । अदालतले विधेयक कार्यन्वयन तत्काल नगर्न आदेश दिएपछि नागरिकता विहिन युवाहरु आक्रोशित छन् । आमा र बुवा दुबैको नागरिकता भएपनि नागरिकतामा रोक लगाउनु नगारिकबीच विभेद भएको नागरिकता पीडित संघर्ष समितिका सल्लाहकार सागर यादबले बताए ।

नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले झन्डै तीन सातादेखि माइतीघरमा धर्ना दिइरहेको छ । नागरिकताको प्राप्तीको माग सम्बोधन नहुँदासम्म आफूहरुले विरोध कार्यक्रम नरोकिने पीडितहरुको भनाइ छ ।


प्रतिक्रिया