सहकारीबाट पीडितद्वारा रकम फिर्ताको माग, काठमाडौंमा लगातार प्रदर्शन

असार ३१, २०८० | काठमाडौं

काठमाडौंको माइतीघरमा धर्नामा बसेका सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । धर्नाका कारण सडकमा अवरोध भएको भन्दै प्रहरीले संघर्ष समितिका केही व्यक्तिलाई नियन्त्रण लिएपछि झडप भएको हो । बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी र फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या तत्काल समाधान गर्नुपर्ने लगायत माग राख्दै सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिको अगुवाइमा धर्ना आयोजना गरिएको हो । माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सहकारी क्षेत्रको समस्याका कारण देशभरका सहकारी पीडित लामो समयदेखि आन्दोलनमा छन् ।

सोही आन्दोलनमा भेटिए धादिङका विष्णु प्रसाद रिमाल । उनले पसलबाट आम्दानी गरेको करिब साढे ४ लाख रुपैयाँ सहकारीमा बचत गरे । वर्षदिनसम्म दैनिक बचत गरि जोगाएको उनको रकम डुब्यो । उनले बचत गरेको सहकारीका सञ्चालक नै फरार भएपछि उनको साढे ४ लाख रुपैयाँ डुबेको हो । ‘पसलबाट अलिअलि गरि साढे चार लाख रुपैयाँ एक वर्षमा बचत गरेको थिए, सुरु–सुरुमा सहकारी भएको स्थानमा जाँदा सञ्चालकहरु भेटिन्थ्ये, तर पछिपछि उनीहरु पनि भेटिएनन्, मेरा पैंसा पनि डुब्यो । ’ उनले सुनाए ।

विष्णु जस्तै, काठमाडौंको माइतीघरमा सहकारी पीडित धर्ना बस्दै आएका छन् । उनीहरुमध्येका अर्की एक हुन्, काठमाडौं धापासीकी सुमी राई श्रेष्ठ । करिब ११ लाख रुपैयाँ सहकारीमा डुबेको उनले सुनाइन् । ‘दुःख गरि खाइ–नखाई कमाएको पैसा फिर्ता गराई दिनु होस्,’ उनले थपिन्, ‘सहकारीमा बुढेशकालका लागि जम्मा गरिएको पैसा हो त्यो । ’

बिष्णु र सुमी जस्तै देशभर ७३ लाख बढी व्यक्ति सहकारीबाट पीडित भएको सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले जनाएको छ । रकम फिर्ता पाउनुपर्ने माग गरि माइतीघरमा मात्रै नभई देशका विभिन्न स्थानबाट दबाबमुलक धर्ना दिइरहेका छन् । संघर्ष समितिका अनुसार देशभरमा गरी ३ हजार २ सय सहकारीका सञ्चालक फरार छन् । बचतकर्ताको खर्बौ रकम हिनामिना भएको संघर्ष समितिको संरक्षक कुशलव केसीले बताए । ‘देशभर ७३ लाख बढी बचतकर्ता पीडित छन्, यसमध्ये करिब १५ लाखले मात्रै धर्नाका लागि समर्थन गरेका छन्,’ उनले भने, ‘सहकारी बचतकर्ता पीडितको ४५ अर्ब रकम डुबेको छ, यसको क्षतिपूर्तिका लागि सरकारले करिब ७ खर्ब रुपैयाँ जोहो गर्नुपर्छ ।’

बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी र फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, रकमको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने, सहकारीको अनुगमन र नियमन गर्न नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउनु पर्ने, बचतकर्ताका समस्या तत्काल समाधान गर्नुपर्ने लगायत सरकारले माग सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ । पीडीत श्याम हरि बस्नेतले भने, ‘सरकारी निकायले हामीलाई ध्यान दिनुपर्‍र्यो, सरकारले राष्ट्र बैंक मार्फत सहकारीको कारोबार छानबिन गरेर मात्रै सहकारी संचालन गर्न अनुमति दिनुपर्छ ।’

बाग्लुङ, कास्की, काठमाडौं लगायत विभिन्न स्थानबाट सहकारी पीडित बचतकर्ताले शान्तिपुर्ण धर्ना दिंदै आएका छन् । तत्कालै माग पुरा नगरे देशभरबाट आन्दोलन गर्ने पीडितहरुले चेतवानी दिएका छन् । 


प्रतिक्रिया