करिब साढे एक लाख च्याउको प्रजाति मध्ये ७ हजार च्याउ मात्रै खाना योग्य

श्रावण ४, २०८० | काठमाडौं

नेपालीहरुको भान्सामा च्याउको प्रयोग बढ्दै गएको छ । कतिपय प्रजातिका च्याउ स्वदेशमै उत्पादन भइरहेको छ भने केही च्याउ अन्य मुलुकबाट आयात हुने गरेका छन् । देशभित्रै हुने च्याउको उत्पादनबाट कृषकले राम्रै आर्यआर्जन गरिरहेका छन् । तर सबैभन्दा चिन्ताको बिषय भनेको चाहि हरेक वर्ष जंगली वा विषालु च्याउ खाएर बिरामी पर्ने र मानवीय क्षति हुने घटना हो । विज्ञहरुका अनुसार, सचेतनाको कमीले गर्दा असावधानीका कारण जंगलमा पाइने च्याउ खाँदा मानिसहरुको मृत्यु हुने गरेको छ । त्यसैले जथाभावी रुपमा च्याउको प्रयोग नगर्न उनीहरुले सुझाव दिएका छन् ।

विषालु च्याउ खाएर गत सोमबार मात्रै रोल्पामा ३ जनाको मृत्यु भयो, ११ जना बिरामी भए । गत असारमा दोलाखमा विषालु च्याउ खाएर १ जनाको मृत्यु भयो भने ४ जना बिरामी परे । जंगली विषालु च्याउ खाँदा ओखलढुंगामा एक जनाको मृत्यु भयो भने पाँचरथरमा नौ जना बिरामी परेका थिए । यी प्रतिनिधिमूलक घटना मात्र हुन् । हरेक वर्ष विषालु च्याउ खाँदा मानवीय क्षति भइरहेको छ । बर्षेनी कम्तिमा १५ जनाको मृत्यु हुने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को तथ्यांकमा उल्लेख छ ।

विश्वभर करिब १ लाख ४० हजार च्याउको प्रजाति मध्ये हालसम्म करिब १४ हजार प्रकारका च्याउ पत्ता लागेका छन् । यसमध्ये करिब ७ हजार च्याउ खाना योग्य भएको नार्कको तथ्यांकमा उल्लेख छ । यी मध्ये २ सय प्रजाति च्याउ प्रयोगशालामा उमार्न सकिने विज्ञहरुले बताएका छन् । हालसम्म १ हजार २ सय ९१ प्रजातिका च्याउहरु जंगली अवस्थामा छन्, जसमध्ये १ सय ५९ प्रजातिहरु मात्र खानका लागि उपयूक्त छन् भने, करिब १ सय प्रजातिहरु विषालु र ७४ प्रजातिहरुमा औषधीय गुण छन् । हालसम्म नेपालका विभिन्न स्थानबाट १ हजार भन्दा बढी च्याउ पत्ता लागेको छ । यसमध्ये १५ प्रतिशत च्याउ खान योग्य, ७ प्रतिशत औषधीय गुण भएको र १० प्रतिशत विषालु प्रकृतिका छन् भने अरु प्रजाति सम्बन्धी अनुसन्धान हुने प्रक्रियामा रहेको नार्कले जनाएको छ । च्याउ एक प्रकारको ढुसी हो । यो जंगलमा कुहिएको मुढा, काठ, पात पतिङ्गर, खेत, बारी, चौर आदि ठाउँमा उम्रन्छ । मुलुकको हिमाली भु–भाग देखि तराईसम्म विभिन्न हावा पानीमा विशेष गरी वर्षायाममा उम्रन्छ । जंगलमा खान हुने च्याउ, खान नहुने च्याउ र बिषालु च्याउ गरी ३ प्रकारका पाइन्छन् । जंगलमा पाइने खान हुने, खान नहुने र विषालु च्याउ छुट्याउन नसक्ने भएकोले जथाभावी रुपमा च्याउ खान नहुने नार्क अर्न्तगत बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक वशिष्ठ आचार्यको सुझाव छ ।

च्याउमा बच्चादेखि वृद्ध अवस्थासम्मका उमेरका लागि चाहिने पौष्टिक तत्व कार्बोहाइट्रेड, प्रोटिन, भिटामिन, मिनरल, फाइबर आदि प्रशस्त मात्रामा पाइन्छ । तर जंगली वा विषालु च्याउ सेवनले मानिसको कलेजो र मृगौलालाई असर गर्नुका साथै ज्यान समेत जाने चिकित्सक बताउछन् । विषालु च्याउ वा जंगली च्याउ खाएमा श्वास प्रश्वासमा अवरोध आउने, जिब्रो सुन्निने, पेट वा छाती भारी भई असहज महसुस हुने, बान्ता हुने, पेट दुख्ने, मुटुको धड्कनमा गडवडी हुने, शरीरको तापक्रम घट्ने, रिगंटा लाग्ने जस्ता लक्षण देखिने भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी बताउछन् ।

जंगली च्याउको सट्टामा व्यवस्थित रुपमा उत्पादन हुने खेती च्याउको उपभोग गर्न सकिन्छ । नेपाली बजारमा च्याउको माग बढेसँगै कन्ये च्याउ, गोब्रे च्याउ, मृगे च्याउ, रातो च्याउ, दूधे च्याउ, पराले च्याउ लगायतको व्यवासयीक उत्पादन हुँदै आएको छ । देशभित्रको उत्पादनले माग धान्न नसक्ने भएकाले केही मात्रामा ग्रोब्रे च्याउ आयात समेत हुने गरेका वैज्ञानिक आचार्यले बताए ।

विशेषगरी नेवार, राई, लिम्बु, थकाली, मगर, शेर्पा, गुरुङ, थारू, दनुवार, चेपाङ, राउटे समुदायहरुले आफ्नो परिवारको खाद्य स्रोतको रुपमा प्रयोग गरिरहेका छन् भने स्थानीय बजारमा जंगली च्याउहरु बिक्री गरी कतिपयले राम्रै आय आर्जन गर्दै आइरहेका छन् । सचेतनाको अभावका कारण कतिपय व्यक्तिले घर नजिकैको जंगली क्षेत्रमा पाइने च्याउ खाने गरेका छन् । त्यसैले जंगली च्याउ खाएपछि कुनै असामान्य लक्षण देखिएमा तत्काल अस्पताल जान बाँकेको नेपालगन्जस्थित भेरि अस्पतालका डा. संकेत कुमार रिसालको सुझाव छ ।

प्राचीनकालदेखि च्याउ खाद्य सामग्री र औषधिका रुपमा प्रयोग हुँदै आएको बताइन्छ । तुलनात्मक रुपमा उच्च पहाडी क्षेत्रमा भन्दा मध्यपहाडी र तराई क्षेत्रमा विषालु च्याउ बढी मात्रामा पाइने नार्कले जनाएको छ । 


प्रतिक्रिया