कृषि शिक्षाः निर्धारित कोटा भन्दा कम भर्ना

श्रावण १६, २०८० | काठमाडौं

नेपालमा विश्वविद्यालयको संख्या बढेपनि स्वदेशमै अध्ययन गर्ने विद्यार्थीको संख्या भने घट्दो छ । अन्य बिषयमा जस्तै कृषि विषय पढाइ हुने क्याम्पसहरुमा कोटा अनुसार विद्यार्थी भर्ना हुन सकेका छैनन् । नयाँ प्रविधिसँग जोडेर व्यवहारिक बनाउन सकिएमा कृषि क्षेत्रका लागि स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सकिने विज्ञहरुले बताएका छन् ।

वि.सं. २०३२ मा जेटीए स्तरका कृषि प्राविधिक तयार गर्ने उद्धेश्यले ६४ जना विद्यार्थीका लागि लमजुङको सुन्दर बजारमा क्याम्पस स्थापना भएको थियो । त्यहीबाट नेपालमा कृषिको औपचारिक शिक्षा प्रारम्भ भएको मानिन्छ । त्यसअघि विभिन्न क्षेत्रमा जेटिएका लागि तालिम केन्द्र भने खुलेका थिए । २०३५ सालमा रुपन्देहीको पक्लिहवामा कृषिमा दक्ष जनशक्तिका लागि अर्को क्याम्पस पनि स्थापना भएको थियो । बागबानीका विकास लागि २०३९ मा मुस्ताङमा ‘दाना मार्फामा क्याम्पस’ को स्थापना नभएको होइन तर २०४० सालमा सो कार्यक्रम बन्द भयो ।

वि.सं. २०४५ सालमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम केन्द्र स्थापना भएको थियो । २०५० सालबाट नेपालमा पशु स्वास्थ्यको चार वर्षे स्नातक अध्यापन सुरु भएको थियो । हाल आएर देशभर ७ वटा विश्वविद्यालयमा १ हजार ९ सय ७५ जनाका लागि वार्षिक कृषि विषय अध्ययन गर्न पाउने कोटा निर्धारण गरी कक्षा सञ्चालन भइरहेका छन् ।

आधुनिक शिक्षासँग जोडिएका थुप्रै नयाँ बिषय अध्ययन गर्ने विद्यार्थी धेरै भएपनि कृषिको पढाइ पनि नयाँ पुस्ताको रोजाइमा परेको छ । ‘विकसित मुलुकमा कृषि शिक्षा पढेकालाई राम्रो अवसर हुनुका साथै लोक सेवा आयोग र विभिन्न कार्यक्रममा राम्रो अवसर छ,’ चितवनस्थित कृषि तथा वन विज्ञान विश्व विद्यालयमा अध्ययनरत विद्यार्थी वृक्षा श्रीपाइलीले भनिन्, ‘विश्वभर जनसंख्या बढ्दो छ तर जमिन भने जतिको त्यति नै छ, यसले भविष्यमा खाद्य संकट पर्ने देखिन्छ, सो समयमा थोरै जमिनमा धेरै उत्पादन गर्नुपर्ने हुन्छ कृषि शिक्षाको खाँचो हुन्छ ।’

मुलुकभर ७ वटा विश्व विद्यालयमा कृषि शिक्षा पढाइ हुन्छ । कृषि तथा वन विज्ञान विश्व विद्यालय अर्न्तगत १५ वटा क्याम्पसमा कृषि शिक्षा अध्ययन गराइन्छ । यस अर्न्तगत रामपुर क्याम्पसमा १ सय ६५ जना, ८ वटा सम्बन्धन प्राप्त क्याम्पसमा ५४ जना विद्यार्थी कोटा गरि ४ सय ३२ जना र सोही विश्वविद्यालय अर्न्तगत आंगिक ६ क्याम्पसमा ५० जनाको कोटा गरि ३ सय जना गरी ८ सय ९७ जना अध्ययन गर्न पाउने व्यवस्था छ । यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत ८ क्याम्पसमा ५० जनाको कोटा गरी वर्षिक ४ सय र एक क्याम्पसमा ४८ जना गरि बार्षिक ४ सय ४८ जनाले कृषि बिषय पढिरहेका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कक्षाहरुमा ३ सय ८४ जना कृषि अध्ययन गरिरहेका छन् । सुदुरपश्चिम विश्वविद्यालय अर्न्तगत एक क्याम्पसमा बार्षिक १ सय १० जनालाई कृषि अध्ययन गराइन्छ । हालै सञ्चालनमा आएको मधेश कृषि विश्वविद्यालय १ क्याम्पसमा ४८ जनालाई अध्ययन गराइन्छ । काठमाडौं विश्वविद्यालयको १ क्याम्पसमा ४० जना विद्यार्थी भर्ना भएका छन् । र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको एक क्याम्पसमा ४८ जनाले कृषि अध्ययन गरिरहेका छन् । तर निर्धारित कोटा भन्दा कम विद्यार्थी भर्ना हुने समस्या ती क्याम्पसले झेलिरहेका छन् ।

कृषि तथा पशु अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय अर्न्तगत पछिल्लो समय करिब ४० प्रतिशत र पूर्वअञ्चल विश्वविद्यालयमा करिब ३० प्रतिशत कोटा खाली छ । यसरी विद्यार्थी भर्ना हुन नसक्नुमा विश्वविद्यालयको संख्या धेरै हुनु, प्लस टुपछि विद्यार्थी विदेश पलायन हुनु लगायत कारण रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु अध्ययन संस्थानका डिन भार्गव धितालले बताए । ‘देशभर धेरै विश्वविद्यालय सञ्चालनमा आएकाले विद्यार्थी संख्या घटेको हो, उनले भने, ‘सरकारले भइरहेका कलेजलाई राम्रो बनाउन तर्फ ध्यान ध्यान दिनुपर्ने हो, तर विश्वविद्यालय सञ्चालनको अनुमति दिएको छ ।’

कृषिलाई नयाँ प्रविधिमा जोड्न सके यसको अध्ययनमा विद्यार्थीलाई आर्कषित गराउन सकिने विज्ञहरुको भनाई छ । नयाँ प्रविधिसँग जोडेर कृषिको पढाइलाई व्यवहारिक बनाउनुपर्ने शिक्षाविद् टीका भट्टराईको सुझाव छ । ‘स्थानीय परिवेश, संस्कृतिलाई नमासी प्रविधिसँग कृषि शिक्षालाई जोड्नुपर्छ,’ उनले थपे, ‘हाम्रो कृषिको पाठ्यक्रम पश्चिमा मुलुकको सिद्धान्तसँग प्रभावित छ, त्यहाँको शिक्षा परिमार्जन गरेपनि यहाँ परिमार्जन हुन सकेको छैन ।’ बढ्दो जनसंख्या र प्रदूषणले माटोको गुणस्तर विग्रिएको भन्दै कृषिलाई प्राकृतिक र आर्गेनिक बनाउन पनि भट्टराईको आग्रह गरे ।

निर्धारित कोटा नै पुरा नहुने अवस्थामा कृषिको पढाइले जनशक्ति तयार पार्न कठिन हुन सक्ने देखिएको छ । विषयगत दक्षता हासिल गरेका विद्यार्थीका लागि राज्यले स्वदेशमै अवसर प्रदान गर्न सके अन्य बिषयमा जस्तै कृषिप्रति नयाँ पुस्तालाई जोड्न सकिनेमा दुई मत छैन । 


प्रतिक्रिया