‘रैथाने बाली संरक्षणकालागि नीति आवश्यक’

भाद्र ३, २०८० | काठमाडौं

नेपालको रैथाने बाली संकटमा परेको भन्दै यसलाई संरक्षण गर्नका लागि नीति निमार्णमा जोड दिनुपर्ने सरोकारवालाले सुझाएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले मुलुकमा अहिले प्रयोग भइरहेको करिब ९५ प्रतिशत बालीको बीउ आयातित भएकाले त्यसलाई विस्थापित गर्न आवश्यक भएको बताएका हुन् ।

मुलुकमा ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा गरिने खेतीपातीमा प्रयोग हुने बिउमध्ये ९५ प्रतिशत आयातित भएको विज्ञहरुको बताएका छन् । आयातित बिउको प्रयोग व्यापक हुन थालेपछि रैथाने बालीका ५० प्रतिशत जात लोप भइसकेको सम्वद्ध अधिकारीहरुले बताएका छन् । यसो हुनुमा बिउ राख्ने परम्परागत शैली, वस्तु र प्रक्रियालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्नु, उत्पादनको लागि विकासे जातलाई प्राथमिकता दिनु लगायत कारण रहेको जानकारहरुले बताएका छन् । रैथाने बालीलाई संरक्षण गर्न नीतिगत रुपमा नै सुधार गर्नुपनै कृषि अभियन्ता तिलक ढकाल सुझाव दिन्छन् । ‘वडामा सजिलै रैथाने बिउ सूचिकृत हुन सक्नुपर्दछ,’ उनीले भने, ‘मुलुकमा विभिन्न जातिको फरक खाने परिकार भएकाले रैथाने खाना पर्यटनको सम्भावना छ, साथै पुराना पुस्ताबाट नयाँ पुस्तालाई रैथानेसँग सम्बन्धित परम्परागत शिप, ज्ञान, प्रविधि हस्तानन्तरण गर्नुपर्छ ।’

परम्परागत रुपमा सदियौंदेखि कृषकले संरक्षण गर्दै आइरहेको बालीलाई रैथाने बाली भनिन्छ । मुलुकभर खाद्यन्न, कोशेबाली, फलफूल, फूल लगायत ३० हजार प्रकारको प्रजातिका रैथाने बाली रहेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) ले जनाएको छ । मुलुकका रैथाने बालीमध्ये करीब ५० प्रतिशत बाली लोप भइसकेको छ । बाँकी ५० प्रतिशत बालीमध्ये पनि अधिकांश संकटमा परेका छन् । कृषि उपजको उत्पादन बढाउनका लागि बालीको विकासे जातको प्रयोग गरिएकाले रैथाने बाली ओझेलमा पर्ने क्रम बढेको हो । मुलुकमा भएका कृषिसँग सम्बन्धित नीति र कार्ययोजना किन प्रभावकारी हुन सकेको छैन भन्ने प्रश्न उब्जिएको छ । ‘लोकल नलेज, नलेज नै भएन, बाहिरबाट आएको नलेज पढाइयो हामीलाई,’ अनुसन्धानकर्ता डा.यादव हुमागाई भन्छन्, ‘हामीले पोलिसी क्षमतालाई प्रथामिकतामा राख्नुपर्यो ।’

आयातित बिउले नेपाली खेतमा प्राथमिकता पाइरहँदा त्यसको विकल्पका लागि रैथाने बाली संरक्षण सबैभन्दा महत्वपूर्ण हो । रैथाने बालीलाई संरक्षण गर्नका लागि अपनाइने विकल्प के हुन सक्छ ? भन्ने सवालमा जीन बैंकका प्रमुख तथा बाली वैज्ञानिक डा. बालकृष्ण जोशी भन्छन् ‘अनुसन्धान र शिक्षामा रैथाने विषय वस्तुको बारेमा समेटेको देखिदैन, ठाउँ विशेष रैथाने अनुसन्धान र शिक्षा हुनुपर्छ ।’

कृषि उपजमा परनिर्भरता बढ्दै जाँदा रैथाने बाली जोगाउनका लागि स्थानीय तहदेखि सक्रिय पहल हुनुपर्ने देखिएको छ । त्यसका लागि कृषकलाई समेत सचेत गराउन आवश्यक भएको विज्ञहरुको भनाई छ ।


प्रतिक्रिया