फलफूलको आन्तरिक उत्पादन र बजारीकरणमा ध्यान दिन विज्ञको सुझाव

भाद्र १६, २०८० | काठमाडौं

स्वदेशी उत्पादनको कमीले आयातित वस्तुको उपभोग बढ्दो छ । विदेशबाट आयात हुनेमा फलफूल पनि अग्रपंक्तिमा आउँछ । र, खासगरी भारत र चीनबाट बर्षेनी अर्बौ रकमको फलफूल आयात हुने गरेको सरकारी तथ्याङ्क छ । गत साउनमा मात्रै करिब साढे १ अर्ब रुपैयाँको स्याउ, १८ करोड बढी रुपैयाँको केरा र झन्डै ३९ करोड रुपैयाँ बराबरको भुईकटर आयात भएको भन्सार विभागले जनाएको छ । नेपाली बजारको माग पुरा गर्न विदेशबाट फलफूल भित्र्याउनुपर्ने बाध्यता हटाउन यसको उत्पादन वृद्धि र त्यसै अनुसारको बजारीकरणमा ध्यान दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

फलफूललाई हिउँदे, वर्खे र सुन्तलाजात गरी तीन भागमा विभाजन गरिएको छ । हिउँदेमा स्याउ, नासपति, ओखर, आरु, आरुवखडा, खुपार्नी, किवी, हलुवावेद, अनार, लब्सी लगायत फलफूल पर्दछन् भने वर्षेमा आँप, लिची, केरा, रुखकटहर, भुइकटर, मेवा, अम्बा, नविरल, सुपारी लगायत छन् । यस्तै, सुन्तला जातमा कागती, निबुवा, जुनार, सुन्तला लगायत फलफूल पर्दछन् । नेपालमा खेति हुने जमिनमध्ये १ लाख ८२ हजार हेक्टर बढी क्षेत्रफलमा यी फलफूलको खेति गरिएको छ । तर हाल करिब १ लाख २९ हजार हेक्टर जमिनको फलफूलले मात्रै उत्पादन दिइरहेको सरकारी तथ्यांक छ । यसबाट १४ लाख १६ हजार मेट्रिक टन फलफूल उत्पादन भएको सरकारी तथ्यांकमा छ । पछिल्लो पटक ४ दशमलब ११ प्रतिशतले उत्पादन वृद्धि भएपनि फलफूलको आयात भने रोकिएको छैन । भन्सार विभागको तथ्यांक अनुसार गत साउनमा मात्रै १ अर्ब ४२ करोड ९६ लाख ६७ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । सोही समयावधिमा १८ करोड ३ लाख २७ हजार रुपैयाँ बराबरको केरा भित्रिएको छ । यस्तै, गत साउनमा भारतबाट ३८ करोड, ९० लाख ९० हजार रुपैया बराबरको भुईकटर, ३२ करोड ७५ लाख रुपैयाँ बढीको खरबुजा, २८ करोड ६५ लाख रुपैयाँ बढीको मेवा आयात भएको छ । गत वर्ष १३ अर्ब रुपैयाँको २ लाख मेट्रिक टन बढी फलफूल आयात ताजा फलफूल आयात भएको थियो । नेपालमा उत्पादन हुने फलफूल पर्याप्त नहुँदा विदेशबाट भित्रिने गरेको फलफूल विकास केन्द्रले जनाएको छ । फलफूलको विकास र क्षेत्र विस्तारका लागि विभिन्न कार्यहरु गरिरहेको केन्द्रको दाबी छ । ‘मुख्य गरि दुई कुरामा ध्यान दिएका छौं, एउटा बगैंचा विस्तारमै अनुदान दिने र अर्कोे गुणस्तरीय विरुवा वितरणमा ध्यान दिएका छौं,’ केन्द्रकी वरिष्ठ बागवानी विकास अधिकृत याम कुमारी श्रेष्ठले भनिन्, ‘साथै फलफूल उत्पादनपछि हुने क्षतिलाई व्यवस्थापनका गर्न कोल्डस्टोर बनाउने जस्ता कार्य गरिरहेका छौं।’

स्वदेशमा उत्पादन हुने फलफूलमध्ये अमिलो जातको फलफूलले ४९ हजार ३ सय हेक्टर जमिन ओगटेको छ । यसबाट ३२ हजार मेट्रिक टन उत्पादन भएको छ । हिउँदे फलले साढे ३३ हजार क्षेत्रफल ओगटेकोमा करिब १८ हजार मेट्रिक टन उत्पादन भएको छ । साढे ९९ हेक्टर क्षेत्रफल वर्खे फलफूलले ओगटेको छ । यसबाट ७९ हजार मेट्रिक टन उत्पादन भएको सरकारी तथ्यांक छ । यी फलफूलबाली उत्पादनमा मल, सिँचाई र बिउमा समस्या नभएको होइन । तर फलफूल बालीमा उत्पादन दिने समयावधि लामो हुने भएकाले लागत अनुसार बजार पाउन नसकेको किसानको गुनासो छ । ‘जी–९ केरा उत्पादन गर्न नेपालमा जति नै मेहनत र लगानी लगाएपनि भारतको तुलनामा गुस्तरीय उत्पादन गर्न सकिँदैन, हामीले उत्पादनमा जाति मेहनत र लगानी लगाउछौं त्यति नै मूल्य वृद्धि हुन्छ र भारतीय केरासँग प्रतिस्पर्धा गर्न सकिदैन,’ चितवनका केरा किसान अनिल कुँवरले बताए ।

मल, सिँचाई, बिउ, बजारीकरण नेपालमा कृषि क्षेत्रको मुख्य चुनौती हुन् । यसबाहेक फलपूmल खेतीमा जोखिम कम गर्न र उत्पादकत्व वृद्धि गर्न उन्नत प्रविधि विकासका अध्ययन अनुसन्धान उपलब्धिमूलक भएको देखिदैन् । फलपूmलको बिरुवा आपूर्तिको लागि निजीस्तरमा नर्सरी बिरुवाको संख्यात्मक वृद्धि भए पनि तिनको गुणस्तरमा वृद्धि हुन नसकेको र गुणस्तर नियमन गर्ने कानुनी व्यवस्था नभएको जानकारहरुको भनाई छ । फलफूल क्षेत्रको विकासका लागि प्रदेश तथा स्थानीय तहहरुसंग समन्वय गरी एकिकृत योजना तर्जुमा र अनुगमनका लागि स्पष्ट नीतिगत व्यवस्थासमेत हुन नसकेको सम्बद्ध अधिकारीहरु बताउछन् । ‘कृषि उत्पादनमा कर लगाएर किसानलाई दुःख दिनुभन्दा उत्पादनलाई स्वस्फुर्त रुपमा बजारमा बिक्री गर्ने वातावरण मिलाउनुपर्छ ।’ फलफूल थोक व्यावसाय संघका महासचिव विनोद राज पाण्डे भने ।

मुलुकमा ३० लाख ९१ हजार हेक्टर क्षेत्रफल खेतियोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर क्षेत्रफल जमिन बाँझो छ । तरपनि आन्तरिक उत्पादन नहुँदा फलफूलका लागि बर्सेनी अर्बौं नेपाली रुपैयाँ बाहिरिन्छ । फलफूलको उत्पादन बढाउन क्षेत्रफल विस्तार नै गर्नुपर्ने र भइरहेका बगैंचाको स्याहर गर्नुपर्ने अधिकृत श्रेष्ठको सुझाव छ । फलफूल खेति गर्दा थोरै स्केलमा स्थानीय जातबाट सुरु गर्नुपर्ने र विस्तारै क्षेत्रफल विस्तार गर्दै जानुपर्ने जानकारहरुको सुझाव छ । उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा फलफूलको क्षेत्र विस्तार गर्नुपर्ने उनीहरुले बताएका छन् । 


प्रतिक्रिया