७ बर्षभित्र झन्डै ७० लाख नागरिक स्वास्थ्य बीमामा आवद्ध

भाद्र २८, २०८० | काठमाडौं

मुलुकमा सात वर्ष अघि लागू भएको सरकारद्धारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा करिब ७० लाख जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । अति गरिब, जेष्ठ नागरिक, अति अशक्त अपाङ्गता, महिला स्वमसेविका र सरुवा रोग भएका व्यक्तिको स्वास्थ्य बीमा सरकारले नै गर्ने व्यवस्था छ । बीमाबाट स्वास्थ्य उपचार सुविधा लिने प्रक्रिया झन्झटिलो भएपनि आर्थिक सहयोग पुग्ने बिमित परिवारको भनाई छ ।

सुर्खेतका भिम सुनारले बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा मार्फत ५४ वर्षिया आफ्नी आमाको उपचार गराए । ‘सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम प्रशंसनीय छ, बीमामा आवद्ध भएका परिवारलाई १ लाखसम्म औषधि उपचार गर्ने भनेको आर्थिकस्थित कमजोर भएको परिवारलाई सहयोग पुग्नु हो,’ उनले भने, ‘यस कार्यक्रममा हामी पनि सहभागी छौं ।’

उनी जस्तै अरुले पनि बीमा मार्फत उपचार सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म करिब ७० लाख जना बीमामा आवद्ध भएका छन् । स्वास्थ्य बीमा मार्फत औषधि उपचार गर्दै आएकी कैलालीकी दुर्गा चौधरी पनि एक हुन् । ‘बीमाभित्र पर्ने औषधि उपचार निःशुल्क गर्न पाइन्छ, यसले मलाई धेरै सहयोग गरेको छ । ’ उनले भनिन् ।

स्वास्थ्य बीमा कार्यक्रम परिवारको सदस्यमा आधारित छ । बीमा मार्फत वार्षिक एक देखि दुई लाखसम्मको निःशुल्क औषधि उपचार गर्न पाइने व्यवस्था छ । जसका लागि ५ जनाको परिवारका लागि वर्षदिनमा ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै, पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रतिव्यक्ति सात सय रुपैयाँ थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिने व्यवस्था छ । सामान्य उपचारदेखि जटिल रोगको पनि निःशुल्क उपचार गर्न पाइन्छ । यस बीमामा १ हजार १ सय ३३ किसिमका औषाधि बिमितलाई निःशुल्क प्रदान गरिन्छ । यसका साथै ओपिडी, ल्याब लगायतको सुविधा पनि रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । यी उपचार सेवा सरकारको मतहतमा रहेका स्वास्थ्य संस्थाबाट मात्रै लिन पाइने व्यवस्था छ । बीमाले आर्थिक रुपमा सहयोग गरेपनि बिरामी भर्नाका लागि शैया नपाउने, अस्पतालका कर्मचारीले हेरचाहमा लापरवाह गर्ने जस्ता समस्या भोग्नु परेको सेवाग्रहीको भनाई छ । बीमाबाट स्वास्थ्य उपचार सुविधा लिने प्रक्रिया झन्झटिलो भएको उनीहरुको गुनासो छ । ‘बीमाको तुरुन्तै लाभ लिनका लागि प्रक्रिया सहज बनाउनुपर्छ, जसका लागि सो विषयमा जानकारी गराउने स्वायंसेवक राख्न सकिन्छ ।’ भेरी अस्पतालमा रहेका सेवाग्रही सुनारले भने ।

मुलुकभर ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भइसकेको छ । यस्तै ७७ वाटै जिल्लामा बीमा कार्यक्रम लागू भइसकेको छ । देशभर ४ सय ४० अस्पतालबाट बीमा मार्फत निःशुल्क उपचार सेवा लिन सकिने बोर्डले जनाएको छ । बीमा मार्फत उपचार सेवा लिँदा प्रक्रिया पु¥याएर जाँदा पनि अस्पतालले विभिन्न बहानामा सेवाग्रहीलाई दुःख दिएमा कारबाही समेत गर्ने बोर्डले जनाएको छ । जसका लागि बोर्डमा उजुरी दिनुपर्ने बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको भनाई छ । ‘सेवाग्रहीको उजुरीका आधारमा अनुगमन गरि अस्पताललाई सेवाको सूचीबाट हटाउनुका साथै आर्थिक कारबाही समेत हुन्छ । ’ बसौलाले भने ।

पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनेको संख्या बढ्दो रहेको बोर्डले जनाएको छ । यस बीमा मार्फत औषाधि उपचारका लागि प्रक्रिया सहज बनाउन र सेवा दिने अस्पतालले भेटभाव नगरि उपचार गराउने वातावरण मिलाउन सरोकारवालासँग बिमित परिवारको माग छ । 


प्रतिक्रिया