बालकुमारी घटनामा मन्त्रीको सवारीले युवाहरुको प्रदर्शन उत्तेजक भयोः गृह मन्त्रालय

पुस १६, २०८० | काठमाडौं

ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सवारी जिम्मेवार भएको सरकारकै वरिष्ठ मन्त्रीले बताएका छन् । त्यस्तै, प्रहरी प्रमुखले बालकुमारी क्षेत्रमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको टिप्पणी गरेका छन् । मन्त्री ज्वालाले भने आफ्नो कारणले सो घटना नभएको प्रष्टीकरण दिनुभएको छ । यसैबीच, सरकारले सो घटनाबारे छानविन गर्न उच्चस्तरिय आयोग समेत गठन गरेको छ ।

गत पुष १३ गते बालकुमारी क्षेत्रमा भएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई संसदीय समितिले बोलाएको थियो । समितिमा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भीडभाड भएको सो ठाउँमा मन्त्रीको सवारी हुँदा त्यसले युवाहरुको प्रदर्शनलाई उत्तेजक बनाएको बताउनुभयो । मन्त्रीको गाडी घेराबन्दीमा परेको भन्ने सूचना भएपछि सो स्थानतर्फ जाँदा गोली प्रहार भएको विवरण गृहमन्त्री श्रेष्ठले संसदीय समितिलाई गराउनुभयो ।

यता, प्रहरी महानिरिक्षक बसन्तवहादुर कुँवरले मन्त्रीको सवारीका क्रममा समन्वय हुन नसकेको बताउनुभयो । भीडमा आएर मन्त्रीको गाडी रोकिएपछि विवाद उत्पन्न भएको उहाँको भनाई छ ।

यसैबीच, घटनालाई लिएर आलोचना भएपछि सरकारले छानविनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ । आयोग गठनबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले पूर्व न्यायाधीश शेखर पौडेल, पूर्व एआइजी अरुण विसी र गृह मन्त्रालयका सह सचिव नारायण प्रसाद भट्टराई सम्मीलित उच्च स्तरीय छानविन आयोग गठन गरिएको बताउनुभयो । न्यााधीश पौडेल अध्यक्ष रहेको अयोगलाई एक महिनाको कार्यादेश दिइएको छ ।

सरकारकै वरिष्ठ मन्त्रीले अर्का मन्त्रीको सवारीका कारण बालकुमारी क्षेत्रको प्रदर्शन भड्किएको बताइरहेको केही घण्टापछि मन्त्री ज्वालाले सो घटनामा आफूलाई जोड्न नमिल्ने बताउनुभएको छ । सञ्चारमाध्यमलाई अन्तवार्ता दिदै उहाँले आफूहरुको संलग्नता नरहेको बताउनुभयो । गाडी जलाइएको ठाउँमा भिड्न्त नभएको र गोलि नचलेको एवं आफ्नो गाडी गए पछि घटना भएको हो भन्नु गलत भएको मन्त्री ज्वालाले दाबी गर्नुभयो ।

कोरिया जाने इपीएस प्रणालीको परीक्षाको बिषयलाई लिएर विरोधमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडी जलाएका थिए भने घटनाकै सेरोफेरोमा २ जनाको मृत्यु भएको थियो ।

मृतक परिवार र सरकारबीच ४ बूँदे सहमति
बालकुमारी घटना सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बूँदे सहमति भएको छ । ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको झडपमा अछामका विरेन्द्र शाह र दैलेशका सुजन राउतको मृत्यु भएको थियो । सहमतिमा मृतकका परिवारका १=१ जनालाई उपयुक्त रोजगारी उपलब्ध गराउने, सरकारले राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र सहजीकरण गर्ने उल्लेख छ ।

यस्तै मृतक विरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणा गर्न गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने निर्णय समेत गरेको छ । मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पु¥याउने प्रबन्ध गृह मन्त्रालयले गर्ने गरि सरकारका तर्फबाट गृह मन्त्रालयका उप सचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट परिवारका सदस्यले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 


प्रतिक्रिया