राजतन्त्रविरुद्ध ओलीको कडा अभिव्यक्तिः “पक्का गणतन्त्रवादी” को पहिचान बनाउने प्रयास !

पुस २२, २०८० | काठमाडौं

एमाले अध्यक्ष केपी ओलीले समय–समयमा दिने अभिव्यक्ति र भाषणले चर्चामा आउने गरेका छन् । पछिल्ला केही महिनाभित्र उनले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बोल्दै राजतन्त्रको चर्को आलोचना गरेको पाइन्छ । आफ्नै अभिव्यक्तिका कारण गणतन्त्र पक्षधर हुन नसकेको आरोप खेपेका ओलीले अहिले भने पक्का गणतन्त्रवादीको पहिचान बनाइरहेका छन् ।

एमाले अध्यक्ष ओली वाकपटुता भएका नेता मानिन्छन् । कुनै पनि बिषयवस्तु र घटनालाई लिएर उनले कहिले ठट्यौलीपूर्ण त कहिले आक्रामक अभिव्यक्ति दिदै आएका छन् । त्यही कारण पनि हुन सक्छ ओली सामाजिक सञ्जाल देखि सञ्चारमाध्यममा छाउँछन् । नेपालमा राजनीतिक परिवर्तनका लागि जेल नेल समेत भोगेका ओली पछिल्ला महिनाहरुमा राजतन्त्रको विरोधमा खरो रुपमा प्रस्तुत भइरहेको देखिन्छ ।

 दोस्रो जनआन्दोलन ताका बयलगाडा चढेर अमेरिका पुगिदैन भनेर उनले दिएको अभिव्यक्तिलाई उठाएर कतिपयले ओली गणतन्त्र पक्षधर नभएको भन्दै आलोचना गर्दै आएका छन् । हुन त सोही अभिव्यक्तिलाई लिएर आफूमाथि आरोपहरु लाग्न थालेपछि ओलीले आफूले दिन खोजेको सन्देशको गलत व्याख्या भएको प्रष्टोक्ति समेत दिइसकेका छन् ।


पछिल्ला केही महिनायता राजतन्त्र पक्षधरले गणतान्त्रिक व्यवस्था विरुद्धको सार्वजनिक कार्यक्रम गरिरहँदा ओलीले त्यसको चर्को प्रतिवाद गर्दै आएका हुन् । राजतन्त्रको पक्षधर शक्ति राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग चुनावी गठन गरेका उनै ओलीले राजतन्त्रको पक्षमा उभिएका नेता र समूहको समेत खरो आलोचना गरेको पाइन्छ । पछिल्ला सार्वजनिक कार्यक्रम हेर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बढी अभिव्यक्ति दिदै नेतामा एमाले अध्यक्ष नै देखा परेका छन् ।

एमाले अध्यक्ष ओलीको राजतन्त्रको विरोधी अभिव्यक्तिको यो त पछिल्लो उदाहरण मात्र हो, एक महिना अघि आयोजित एक कार्यक्रममा उनले राजतन्त्र स्वीकार्य नहुने दलिल पेश गरेका थिए ।

पछिल्ला दिनमा पूर्व राजा ज्ञानेन्द्र शाह समेत विभिन्न स्थानको भ्रमणमा सक्रिय भएका छन् । गत महिना झापा पुगेका पूर्व राजा शाह केहीदिन अघि भैरहवा समेत पुगेका थिए । पूर्वराजाको गतिविधिबाट राप्रपा लगायत राजतन्त्र पक्षधर नेता र समूह उत्साहित देखिन्छन् । यही मेसोमा एमाले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर राप्रपाका नेताहरुले प्रतिवाद गरेका छन् । सो पार्टीका प्रवक्ता सगुन लावतीले राजतन्त्र विरुद्ध नेपालका कम्युनिष्ट नेताहरुले नकारात्मक भाष्य बनाउने गरेको बताए ।


राजतन्त्रको कडा आलोचना गर्दै ओलीले दिएको अभिव्यक्तिलाई उनकै पार्टी एमालेका नेताहरुले भने स्वभाविक मानेका छन् । एमाले नेता कृष्णभक्त पोखरेलले राजतन्त्र विरुद्ध पार्टी नेतृत्वको अभिव्यक्ति नागरिकको अधिकारका लागि खबरदारी भएको बताए ।


यता, ओलीको राजनीतिक अभिव्यक्ति र कदमको आलोचना गर्ने माओवादीका नेताहरुले समेत गणतन्त्रको पक्षमा उनको अभिव्यक्ति उचित भएको बताएका छन् । सो पार्टीका सांसद लेखनाथ दाहालले ओलीको अभिव्यक्ति गणतन्त्रको पक्षमा सही भएको बताए ।


संविधान कार्यन्वयन हुँदै राजनीतिक परिवर्तनका एजेन्डा अघि बढिरहेपनि आम नागरिकमा देखिएको असन्तुष्टी र आक्रोश बढ्दै गएका छन् । त्यसैले अहिलेको समस्या सम्वोधन गर्दै गणतन्त्रलाई थप परिस्कृत गर्नुको विकल्प छैन । त्यसका लागि राजनीतिक नेतृत्वले बोलेर होइन, जनता र राष्ट्रको हितमा काम गरेर देखाउनुपर्नेछ । 

"राजतन्त्रविरुद्ध ओलीको कडा अभिव्यक्तिः “पक्का गणतन्त्रवादी” को पहिचान बनाउने प्रयास !"   सम्बन्धी रेडियो रिपोर्ट सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोस् । 

नविन कोइरालाका थप लेखहरु पढ्न यहाँ क्लीक गर्नुहोस् । 


प्रतिक्रिया